
पोखरा । गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता ‘Pokhara Open Athletics Meet 2025’ आयोजना हुने भएको छ। जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा यहि शुक्रवार र शनिवार हुने प्रतियोगिताले देशभरका एथलेटिक्स खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।
जिल्ला एथलेटिक्स संघ कास्कीले विगतदेखि नै एथलेटिक्स खेलाडीहरूको खेल स्तर उकास्न नियमित प्रशिक्षण, जिल्लास्तरीय प्रतियोगिता र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। यसपटक भने गण्डकी प्रदेशको खेल इतिहासमा नयाँ आयाम थप्ने लक्ष्यसहित यो राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष गज बहादुर गुरुङले जानकारी दिए।
नेपालको एथलेटिक्स खेलको इतिहासमा गण्डकी प्रदेशले सधैं आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। वि.सं. २०३८ मा प्रथम राष्ट्रिय खेलकुददेखि वि.सं. २०७९ मा पोखरामै सम्पन्न नवौं राष्ट्रिय खेलकुदसम्म गण्डकीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले एथलेटिक्सतर्फ १ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्न सफल भएको थियो। म्याराथनमा स्वर्ण, महिला ४x१०० मिटर रिलेमा रजत, महिला हाईजम्प र पुरुष लङजम्पमा कांस्य पदक हासिल भएको थियो। अब कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदमा थप पदक जित्ने लक्ष्यसहित यो प्रतियोगिताले खेलाडीहरूलाई तयार पार्ने अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ विभिन्न १२ विधाहरू समावेश गरिएको छ। ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १५०० मिटर र ४x१०० मिटर रिले तथा फिल्डतर्फ लङजम्प, ट्रिपल जम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो रहेका छन्। यस्तै, कास्की जिल्लाभित्रका विद्यालयस्तरीय खेलाडीका लागि १०० मिटर दौड पनि समावेश गरिएको छ।
प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही १० हजार तथा उदयीमान दुई खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
संघका सचिव सिद्धान्त अधिकारीले यो प्रतियोगिताले गण्डकी प्रदेशका मात्र नभई देशभरका एथलेटिक्स खेलाडीको खेल अनुभव र मनोबल उच्च बनाउने बताए। “हामीले यो प्रतियोगितामार्फत खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने अवसर दिन चाहन्छौं,” उनले भने।
यो प्रतियोगितामा नेपालभरका खेलाडीले विभागीय क्लब, प्रदेश, जिल्ला, संघ–संस्था, विद्यालय, क्याम्पस वा व्यक्तिगत रूपमा नाम दर्ता गरी सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ।
पोखराको यो पहिलो राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिताले खेलकुद पर्यटनलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।