
पोखरा । पोखराको रंगशाला क्रिकेट मैदानमा जारी दोस्रो केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताले दर्शकलाई रोमाञ्चक क्षणहरू प्रदान गरिरहेको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको समूह ‘सी’ को पहिलो खेलमा कर्णाली एकेडेमीले गत वर्षको च्याम्पियन मधेश प्रदेशलाई १५ रनले पराजित गरेको छ। यस्तै, दोस्रो खेलमा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस (डीएल) मेथडअनुसार १३ रनले हरायो। दुवै खेलमा प्रतिकूल मौसमका कारण ओभर घटाइएको थियो।
पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली एकेडेमीले १७ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनायो। हिमांशु शाहीले ३१ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए। विपिन शाहीले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दा राज प्रसाद शाहले १६, अरुण ऐरीले १३ र कृष्ण कार्कीले ७ रन बनाए। तर, ओपनर अदित्य विक्रम शाह शून्य रनमै आउट भए।
मधेशका बलर रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। अभिषेक कार्कीले ३, विशाल पटेलले २ र प्रदिप पासवानले १ मेडनसहित १ विकेट लिए।
जवाफी ब्याटिङमा मधेशले १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमात्र बनाउन सक्यो। दिपेश दासले ३६ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन्। अभिषेक कार्की १४ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे। विशाल पटेल ५ रनमा नटआउट रहँदा रुपेश सिंहले १७, अरनिको यादवले १४, विशाल शुस्लिङले १२ र हरिशंकर शाहले ७ रन बनाए। ओपनर रोहन विक भने शून्य रनमै पभेलियन फर्किए।
कर्णालीका लागि सुवास भण्डारी र दिपेन्द्र यादवले समान २-२ विकेट लिए। कृष्ण कार्कीले १ मेडनसहित १ र अरुण ऐरीले १ विकेट हात पारे। हिमांशु शाही ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
दोस्रो खेलमा वर्षाले प्रभावित बनायो। टस जितेर ब्याटिङ गरेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। अभिनाष सिंहले ३१ बलमा ७ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेले। ओपनर सुबोध ऐरीले २१ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। सन्दिप भण्डारीले ५, आयुव चन्द र दिपक रोकायाले समान ३-३ रन जोड्दा सुनम बुढाथोकी १ रनमा अविजित रहे।
वर्षापछि खेल रोकिएपछि डीएल मेथडअनुसार हिमाल फ्रेन्ड्सले १३ रनले जित हासिल गर्यो। लुम्बिनीका रन्जित चौधरीले २२ बलमा ३ चौका र २ छक्कासहित अविजित ३६ रन बनाए। सन्देश थापाले १८, प्रज्वल थापाले १०, अभिषेक गौतमले ७, मोहम्मद हुसेनले ४, देव खनालले ३ र तुलबहादुर थापाले १ रन बनाए। अजय कुमार चौहान शून्य रनमा अविजित रहे।
हिमाल फ्रेन्ड्सका सुशिल रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान २-२ विकेट लिँदा दिपक रोकायाले १ विकेट लिए।
प्रतियोगिताको आठौं दिन कर्णाली एकेडेमी र हिमाल फ्रेन्ड्सबीच पहिलो खेल तथा मधेश प्रदेश र लुम्बिनी खुकुरीबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ।