भरतपुर महानगरको सार्वजनिक यातायात सुधारमा ठोस कदम प्रतिवेदन हस्तान्तरणसँगै मेयर दाहालको प्रतिबद्धता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । भरतपुर महानगरपालिकाले सार्वजनिक यातायातलाई सुरक्षित, समावेशी र दिगो बनाउन ठोस कदम चाल्ने भएको छ। बुधबार बागमती अटोमोबाइल्स एसोसिएसनले तयार पारेको सार्वजनिक यातायातसम्बन्धी अध्ययन प्रतिवेदन महानगर प्रमुख रेनु दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। एसोसिएसनका अध्यक्ष राजन पियाले मेयर दाहाललाई प्रतिवेदन बुझाउँदै महानगरको यातायात प्रणाली सुधारमा सहकार्यको अपेक्षा व्यक्त गरे।

नेपाल अटोमोबाइल्स एसोसिएसन र नासा फाउन्डेसन नेपालको समन्वयमा तयार भएको यो अध्ययन अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) को ‘रोड सेफ्टी ग्रान्ट प्रोग्राम’को सहयोगमा सम्पन्न भएको हो। प्रतिवेदन प्रस्तुतिका क्रममा अध्ययन टोलीका संयोजक इन्जिनियर आदर्श राम श्रेष्ठले यातायात व्यवस्थापन, बसपार्क, पार्किङ, अटोल्याण्ड र चक्रपथ निर्माणजस्ता विषयमा सुझावसहितका निष्कर्ष प्रस्तुत गरे।

मेयर दाहालले प्रतिवेदनले भरतपुरको यातायात प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन मार्गदर्शन गर्ने भन्दै सुझावहरू कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाइन्। “हामी भरतपुरलाई यातायातमैत्री सहर बनाउन चाहन्छौँ। यो प्रतिवेदन हाम्रा लागि महत्वपूर्ण दस्तावेज हो,” उनले भनिन्।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, विपद् व्यवस्थापन तथा यातायात शाखा प्रमुख बालकृष्ण थपलिया, एफआईएका विश्व परिषद् सदस्य गोविन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनकी सह–कोषाध्यक्ष कमला क्षेत्री, इन्जिनियर किरण धिताल, आशिष रौनियार र नासा फाउन्डेसन नेपालका कार्यकारी सचिव सुवास भट्टराईको उपस्थिति थियो।

यही अवसरमा बागमती अटोमोबाइल्स एसोसिएसनले सडक सुरक्षाका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई ५० थान रिफ्लेक्टिभ ज्याकेट र १० थान ब्याटन लाइट हस्तान्तरण गर्यो। उक्त सामग्री चितवन ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले ग्रहण गरिन्।

नेपाल अटोमोबाइल्स एसोसिएसनले यो प्रतिवेदनले भरतपुरको यातायात सुधारमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरेको छ। बसपार्क व्यवस्थापनदेखि चक्रपथ निर्माणसम्मका योजनालाई मूर्त रूप दिन यो अध्ययनले आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

भरतपुर महानगरले यातायात सुधारका लागि विभिन्न सरोकारवालासँग सहकार्य गर्दै आएको छ। यो प्रतिवेदनले ती प्रयासलाई थप गति दिने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्