
पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको समूह चरण सम्पन्न भएको छ। समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमीले शतप्रतिशत जितका साथ सेमीफाइनलमा स्थान पक्का गरेको छ। बुधबार समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै अत्तरियाले शीर्ष स्थान कब्जा गरेको हो।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा मालपोखरीले दिएको १२५ रनको लक्ष्य अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। निश्चल क्षेत्रीले २६ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाएर नटआउट रहे। अर्जुन विकले १४ बलमा २ चौकासहित १२ रन जोडेर उनलाई साथ दिए। ओपनर अभिषेक पलले १७ बलमा ५ चौका र २ छक्कासहित ३८ रनको आकर्षक पारी खेले। मालपोखरीका सन्दिप खड्का, सिराज हावारी र डब्लु मलिकले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको मालपोखरीले २० ओभरमा १० विकेट गुमाएर १२४ रन बनायो। विजय गुप्ताले ३६ बलमा ५ चौका र १ छक्कासहित ३८ रनको योगदान दिए। सोहन कुमार यादवले १६, डब्लु मलिकले १७ र जितेश मन्डलले १७ रन जोडे। अत्तरियाका अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले २–२ विकेट लिए भने भोजराज भट्टले १ विकेट हात पारे।
समूह ‘डी’ को अर्को खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हरायो। १४० रनको लक्ष्य होरिजोनले १२.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्कासहित ८० रनको विस्फोटक पारी खेले। अमर मिश्र ३७ रनमा नटआउट रहे। तर, यो जितले होरिजोनलाई सेमीफाइनलमा पुर्याउन पर्याप्त भएन। सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो। मनिष थापाले ४७ रन जोडे। होरिजोनका निर्मल गुरुङ र सुवम खनालले २–२ विकेट लिए।
अत्तरियाले ३ खेलमा ३ जितसहित ६ अंक बटुल्दै समूह ‘डी’ को शीर्ष स्थान कब्जा गर्यो। होरिजोनले ३ खेलमा २ जित र १ हारसहित दोस्रो, मालपोखरीले १ जित र २ हारसहित तेस्रो स्थान प्राप्त गर्यो। सुन्दर हरैचा भने जितविहीन रहँदै पुछारमा रह्यो।
यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले सेमीफाइनलमा स्थान बनाएका थिए। भोलि (४ वैशाख) हुने सेमीफाइनलमा पहिलो खेलमा सिइसी काठमाडौंले हिमाल फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा गण्डकी हिरोज र अत्तरिया क्रिकेट एकेडेमी आमनेसामने हुनेछन्।