केपी ओली कप टी-२० क्रिकेट: गण्डकी र काठमाडौं उपाधिका लागि भिड्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको रंगशालामा जारी केपी ओली कप टी-२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा सिइसी काठमाडौं र गण्डकी हिरोज प्रवेश गरेका छन्। बिहीबार सम्पन्न सेमीफाइनल खेलमा वर्षाको बाधा भए पनि टसको आधारमा विजयी हुँदै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा चैत २३ देखि सञ्चालित प्रतियोगिताको उपाधिका लागि यी दुई टोली शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।

पहिलो सेमीफाइनलमा सिइसी काठमाडौंले हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गर्‍यो। वर्षाका कारण खेल ५ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५ ओभरमा १ विकेट रिटायर्ड आउट हुँदै ५७ रन बनायो। ओपनर रित गौतमले १७ बलमा ३ चौकासहित २८ रन बनाएर रिटायर्ड आउट भए। अर्जुन घर्तीले ५ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे भने दीपेन्द्र रावत ८ रनमा नटआउट रहे।

जवाफी ब्याटिङमा उत्रिएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमै रोकियो। सुवोध ऐरीले ८ बलमा २ चौकासहित १३ रन बनाए। आशिष तिरुवाले ३ बलमा २ छक्कासहित १३ रन जोडे भने अभिनाश सिंहले १२ बलमा १ चौकासहित १२ रन बनाए। काठमाडौंका मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने युनिश विक्रम सिंह ठकुरीले १ विकेट हात पारे।

दोस्रो सेमीफाइनलमा गण्डकी हिरोजले अत्तरिया क्रिकेट एकेडेमीलाई टसको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनायो। टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको अवस्थामा वर्षाले खेल रोक परेर रोकियो। अत्तरियाका ओपनर विपिन रावलले ३३ बलमा १२ चौका र २ छक्कासहित ७२ रनको आकर्षक पारी खेले। अभिषेक पलले १९, खगेन्द्र जोशीले १८ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए। टेक रावत ११ रनमा नटआउट रहे। गण्डकीका मिलन बोहोराले ३.३ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने नारायण जोशीले १ विकेट हात पारे।

वर्षाका कारण खेल पूरा हुन नसकेपछि टसको आधारमा गण्डकी विजयी घोषित भयो। चैत २३ देखि सञ्चालित यो प्रतियोगिताको फाइनलमा शुक्रबार गण्डकी हिरोज र सिइसी काठमाडौं उपाधिका लागि भिड्नेछन्। दुवै टोलीले सेमीफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको र वर्षाको प्रभावका बाबजुद पनि टसमा भाग्यले साथ दिएको आधारमा फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्