पोखरामा निर्मित आपत्कालीन गोदामघर गण्डकी प्रदेशलाई हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । प्राकृतिक विपद्का बेला उद्धार र राहत सामग्री व्यवस्थापनका लागि पोखरामा नवनिर्मित प्रादेशिक आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण भएकाे छ ।

गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई शुक्रबार गाेदामघर हस्तान्तरण गरेका हुन्।

गाेदामघर हस्तान्तरण कार्यक्रम बोल्दै गृहमन्त्री लेखकले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेको बताए। उनले भने- ‘हिमाल, पहाड र तराईमा जहाँ पनि विपद् आउन सक्छ। त्यसैले हामी सधैं तयारी अवस्थामा रहनुपर्छ।’

उनले चारवटै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइसकिएको र यो गोदामघरको व्यवस्थापन प्रदेश सरकारलाई सुम्पिएको जानकारी दिए। आवश्यक परे अन्य क्षेत्रमा राहत सामग्री पठाउन पनि प्रदेश सरकारलाई उनले अनुरोध समेत गरे।


मन्त्री लेखकले मुख्यमन्त्री पाण्डेलाई प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा आपत्कालीन गोदामघर स्थापनाकाे लागि पहल गर्न आग्रह गरे। विश्व खाद्य कार्यक्रमको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले यो गोदामघरले गण्डकी प्रदेशमा विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। ‘यो संरचनाले विपद्का बेला तत्काल राहत र उद्धारमा ठूलो सहयोग पुग्नेछ ।’ उनले भने।

गाेदामघर नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त सहयोगमा २ करोड रुपैयाँको लागतमा निर्माण भएको हो।

यो गोदामघरले गण्डकी प्रदेशलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउने र स्थानीय स्तरमा तत्काल राहत पुर्‍याउने लक्ष्य लिईएकाे छ। यसले प्रदेशको विपद् प्रतिकार्य क्षमतालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्