
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले व्यक्तिगत स्वास्थ्य समस्याका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्। उनले भट्टराईसँग कुनै असहमति नरहेको बताउँदै राजीनामालाई लिएर भइरहेको अनावश्यक अड्कलबाजी र प्रचारप्रति असन्तुष्टि जनाए।
“उहाँ मैले नियुक्त गरेको मन्त्री हो। मैले काम लगाएको छु, सहयोग गरिरहेको छु, सिकाइरहेको छु,” प्रधानमन्त्री ओलीले भने, “ठूलो मन्त्रालय हो। अहिले स्वास्थ्य ठीक नभएकाले उहाँले जिम्मेवारीबाट सन्न्यास लिनुभएको हो। यसलाई अनावश्यक प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।”
शिक्षामन्त्री भट्टराईले सोमबारै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएकी थिइन्। त्यसपछि उनको राजीनामालाई लिएर राजनीतिक असहमति वा दबाबको निहुँमा आएको चर्चा फैलिएको थियो। तर प्रधानमन्त्रीको पछिल्लो स्पष्टीकरणले ती अनुमानलाई खारेज गरिदिएको छ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक गएको सन्दर्भलाई लिएर पनि हल्ला फैलाइएको गुनासो गरे। “स्वास्थ्य परीक्षणमा विदेश जानुलाई पनि सरकार ढल्छ भन्ने ढंगले प्रचार गरिएको छ,” उनले टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार १५ महिनापछि सत्ता सभापति देउवालाई हस्तान्तरण गर्ने प्रतिबद्धता पनि दोहोर्याए। “सम्झौताअनुसार म प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्नेछु,” उनले भने।