पोखरा । उजुरीको मिलापत्र गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हाे ।
गिरीलाई गत चैत ७ गते आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले २५ हजार रुपैयाँ घुस लिँदै गर्दा महानगरपालिका कार्यालय नजिकैबाट पक्राउ गरेको थियो।
आयोगका अनुसार उनी उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत थिए र अख्तियारमा परेका उजुरीहरूसँग सम्बन्धित पत्राचारमा संलग्न थिए।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गिरीले सेवाग्राहीलाई “अख्तियारमा परेको उजुरी मिलाइदिन्छु” भन्दै सुरुमा १ लाख रुपैयाँ घुस मागेका थिए। पछि बार्गेनिङ गर्दै २५ हजारमा सहमति भएको थियो। अनुसन्धानबाट उनले उजुरीसम्बन्धी कागजातहरूमा असर पार्ने उद्देश्यले पैसा मागेको पुष्टि भएको आयोगको दाबी छ।
गिरीले महानगर तर्फबाट अख्तियारलाई आवश्यक स्पष्टीकरण वा जवाफ पठाउने जिम्मेवारी पाएका थिए। सोही भूमिकाको दुरुपयोग गर्दै उनले सेवाग्राहीमाथि दबाब सिर्जना गरेर रकम असुल्ने प्रयास गरेको आयोगको ठहर छ।
आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम २५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजायसहित बिगोबराबरको जरिवाना मागदाबी गर्दै अदालतमा आरोपपत्र दायर गरेको हो।