सामाजिक सुरक्षा कोष: ७८ अर्ब ४१ करोड सङ्कलन, १४ अर्ब १६ करोड भुक्तानी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सागर ढकाल/पोखरा । सामाजिक सुरक्षा कोषले मुलुकभरका श्रमिक र रोजगारदाताहरूलाई समेट्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। २०८२ वैशाख ११ गतेसम्म कोषमा आबद्ध रोजगारदाताको सङ्ख्या २० हजार ४ सय ७ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको सङ्ख्या लाख हजार ७६ हजार ७ सय २ रहेको छ।

यसमध्ये वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या १५ लाख ९८ हजार २ सय ५२ र औपचारिक क्षेत्रबाट आबद्ध श्रमिकको सङ्ख्या ५ लाख ७७ हजार ६ सय ६१ रहेको छ। गण्डकी प्रदेशमा भने १ हजार ७ रोजगारदाता र २३ हजार ३ सय ८६ योगदानकर्ता कोषमा आबद्ध छन्।

कोषले विभिन्न क्षेत्रका श्रमिकहरूबाट ७८ अर्ब ४१ करोड रुपैयाँ सङ्कलन गरेको छ। यसमध्ये १४ अर्ब १६ करोड रुपैयाँ विभिन्न सामाजिक सुरक्षा योजनाहरू मार्फत श्रमिकहरूलाई भुक्तानी गरिएको छ। कोषमा योगदानकर्ताहरूको बचत रकम ६४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९९ हजार १ ८५ श्रमिकले ४ लाख ९६ हजार ३ सय ७४ पटक उपचार दाबी गरेका छन्। यसअन्तर्गत कोषले १ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ। यो योजना श्रमिकहरूका लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५ हजार २ सय २२ योगदानकर्ताले ९ हजार २ सय ७६ पटक सुविधा दाबी गरेका छन्। यसका लागि कोषले १८ करोड २२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ। यो योजनाले श्रमिकहरूलाई कार्यस्थलमा हुने दुर्घटनाबाट सुरक्षा प्रदान गर्छ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६८१ योगदानकर्ताहरूले मासिक पेन्सन प्राप्त गरिरहेका छन्। यस योजनामा कोषले २१ करोड ९६ लाख ७९ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो योजनाले श्रमिकको मृत्यु भएमा उनको परिवारलाई आर्थिक सहायता प्रदान गर्छ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत १ लाख ४ हजा, ६ सय ५५ योगदानकर्ताले ११ अर्ब ६५ करोड ४० लाख रुपैयाँ प्राप्त गरेका छन्। यो योजना ६० वर्ष उमेर पुगेका योगदानकर्ताहरूलाई आर्थिक सुरक्षाको ग्यारेन्टी प्रदान गर्छ।

सामाजिक सुरक्षा कोष पोखरा कार्यालय प्रमुख रमेश ढुंगेलका अनुसार, कोषमा आबद्ध हुन विभिन्न प्रक्रियाहरू छन्। औपचारिक क्षेत्रका श्रमिकले आफ्नो प्रतिष्ठानमार्फत कोषमा दर्ता हुन सक्छन्।

सामाजिक सुरक्षा कोष पोखरा कार्यालय प्रमुख रमेश ढुंगेल

प्रतिष्ठानले सामाजिक सुरक्षा कोषको वेबसाइटमा कम्पनीको दर्ता प्रमाणपत्र र प्यान नम्बरका आधारमा दर्ता गरेपछि १६ अङ्कको सामाजिक सुरक्षा नम्बर प्राप्त गर्छ। त्यसपछि प्रत्येक श्रमिकको सामाजिक सुरक्षा नम्बरमार्फत कोषमा सूचीकरण गरिन्छ।

वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृति लिने प्रक्रियामै कोषमा आबद्ध हुनुपर्छ। अनौपचारिक क्षेत्रमा कार्यरत स्वरोजगार व्यक्तिहरूले वडा कार्यालयको सिफारिस वा सम्बन्धित पेशागत प्रमाणपत्र (जस्तै वकिल, डाक्टर, इन्जिनियर) का आधारमा कोषमा आबद्ध हुन सक्छन्।

कोषमा योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम मासिक जम्मा गर्नुपर्छ। हाल नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक १० हजार ८ सय २० रुपैयाँको ३१ प्रतिशत (३,१५४.२ रुपैयाँ) मासिक जम्मा गर्नुपर्छ। यो रकम कनेक्ट आइपिएस, ई–सेवा, खल्ती जस्ता माध्यमबाट जम्मा गर्न सकिन्छ। नियमित रूपमा प्रत्येक महिनाको १५ गतेभित्र यो रकम जम्मा गर्ने योगदानकर्ताले स्वास्थ्य, दुर्घटना, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाका सबै सुविधाहरू प्राप्त गर्छन्।

सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूलाई तीन प्रकारका पेन्सन सुविधा प्रदान गर्छ। पहिलो,अशक्तता पेन्सन अन्तर्गत दुर्घटनामा परी अशक्त भएका योगदानकर्ताले जीवनभर तलबको ६० प्रतिशत पेन्सन प्राप्त गर्छन्। दोस्रो, आश्रित परिवार पेन्सन अनुसार रोजगारीजन्य दुर्घटनामा योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवार (श्रीमती/श्रीमान् वा सन्तान) ले तलबको ६० प्रतिशत पेन्सन पाउँछन्, जसमा सन्तानले २१ वर्ष उमेरसम्म वा अशक्त भए जीवनभर यो सुविधा लिन सक्छन्। तेस्रो, वृद्धावस्था पेन्सनअन्तर्गत ६० वर्ष पुगेका योगदानकर्ताले पेन्सन पाउँछन्, र यदि पेन्सन अवधिमा योगदानकर्ताको मृत्यु भएमा श्रीमती/श्रीमान्ले ७ वर्षसम्म पूर्ण पेन्सन र त्यसपछि ५० प्रतिशत पेन्सन प्राप्त गर्छन्।

सामाजिक सुरक्षा कोषले नेपालको श्रमिक वर्गको स्वास्थ्य, आर्थिक सुरक्षा र वृद्धावस्थाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसले मुलुकको सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउँदै कार्य गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्