नेपाल पंक्षी संरक्षण संघद्वारा पीपलबोट सहकारीलाई दुग्ध क्यान हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको पीपलबोट बहुउद्देश्यीय सहकारी संस्थालाई नेपाल पंक्षी संरक्षण संघले दुग्ध संकलनका लागि करिब ५१ हजार रुपैयाँ मूल्य बराबरका ६ वटा स्टीलका दुग्ध क्यानहरू हस्तान्तरण गरेको छ।

स्थानीय स्तरमा आयोजित कार्यक्रममार्फत उक्त सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा पंक्षी संरक्षण संघ नेपालका प्रतिनिधिहरूले ग्रामिण क्षेत्रमा कृषि व्यवसायको प्रवर्द्धनका लागि स्थानीयहरुसँग सहकार्य गर्दै आएको जानकारी दिए।

माछापुच्छ्रे गाउँपालिका–३ का वडाध्यक्ष हरिशचन्द्र लम्सालले घाचोकको सम्भावनालाई प्रविधिसँग जोड्दै यस्ता सहयोगले सकारात्मक असर पार्ने धारणा राखे। ‘दिगो कृषि प्रणालीका लागि यस्ता सघन सहकार्य आवश्यक छन्’, वडाध्यक्ष लम्सालले भने।

हस्तान्तरण गरिएको स्टील दुग्ध क्यानको मूल्य करिब आठ हजार पाँच सय रुपैयाँ रहेको छ। सहकारीले प्राप्त गरेको क्यानहरूले दुग्ध संकलन, भण्डारण र ढुवानी प्रक्रियालाई अझ व्यवस्थित बनाउने विश्वास गरिएको छ।

गिद्ध रेस्टुरेन्ट कमिटीका संस्थापक अध्यक्ष रवि पोखरेलले घाचोक क्षेत्रको जैविक विविधता र कृषिजन्य सम्भावनाको चर्चा गरे । उनले भने ‘यो क्षेत्र गिद्ध संरक्षणको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ। यहाँका मेहनती कृषकहरूले उत्पादनमा उल्लेख्य भूमिका खेलेका छन्, तर उनीहरूको श्रम अझ उजागर हुन आवश्यक छ।’

स्थानीय तहले पूर्वाधार र नीति निर्माणमा सहयोग गरेमा कृषिमा नविनता ल्याउन सकिने उनकाे भनाई छ । उनले संरक्षण र उत्पादनको सन्तुलनले विभिन्न ठाउँहरुलाई उदाहरणीय नमुना बनाउन सकिने बताए ।

बर्डलाइफ इन्टरनेशनलका डा. हुम गुरुङले ग्रामिण उद्यम र वातावरणीय संरक्षणको समायोजनबारे धारणा राखे । उनले भने, ‘घाचोक जस्ता पहाडी गाउँमा कृषिको नविन अभ्यासले दिगो विकासलाई टेवा पुर्‍याउँछ, यसको सुरुवात आजका यस्ता प्रयासले हुन्छ।’

पीपलबोट बहुउद्देश्यीय सहकारीका अध्यक्षले बायोकस नेपालको सहयोगप्रति आभार व्यक्त गर्दै दुग्ध संकलन क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा घाचोकको सामुदायिक सहभागिता, कृषि उन्नयन र वातावरणमैत्री अभ्यासप्रति विभिन्न पक्षहरूबाट सह्राना गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्