उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।

बादल कार्की (एथलेटिक्स)
एथलेटिक्स खेलाडी बादल कार्की २०८१ सालमा वर्षभरी नै व्यस्त रहे  । बागलुङ काठेखोला गाउँपालिका ७ का १८ वर्षीय बादलले डोमेस्टिक प्रतियोगितादेखि नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याए । उनले यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगितामा टिम इभेन्टमा काश्य पदक जिते । यस्तै भारतमा भएको साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा १५ सय मिटर र ३ हजार मिटरमा चौथो स्थान हासिल गर्न सफल रहे ।

युएईमा भएको एसियन यु–२० एथ्लेटिक्स च्याम्पियनसिपमा १५ सय मिटमार १३औं र ८ सय मिटरमा ९औं स्थान हासिल गरे । पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा ३ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे । यसपालिको पोखरा म्याराथनमा १० किलोमिटरमा काश्य र पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्रीमा ५ किलोमिटरतर्फ स्वर्ण पदक जिते । यसबाहेक पनि बादल विभिन्न प्रतियोगितामा सहभागी भए र पदक पनि ल्याए ।

गत वर्षको सुरुआतमा भएको १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथ्लेटिक्स खेलमा दुई स्वर्ण पदक जिते । उनले १५ सय र ८ सय मिटर इभेन्टमा पहिलो हुँदै स्वर्ण जितेका हुन् । दौडमा लाग्नका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका सोमबहादुर कुमालबाट प्रभावित भए । सोमले टिकटकमा हालेको भिडियोहरु देखेर बादललाई पनि त्यस्तै धावक बन्ने इच्छा जागेको थियो र त्यसलाई फलो गर्दै दौडमा लागेको बताइन् ।

जितबहादुर सार्की (भलिबल)
स्याङ्जाका जितबहादुर सार्कीले गएको शनिबार एपिएफविरुद्ध गण्डकी प्रदेशको सिनियर टोलीबाट डेब्यु गरे । प्रथम लायन्स कप भलिबल प्रतियोगिताअन्तर्गतको उक्त खेलमा गण्डकी एपिएफसँग स्तब्ध हुन पुग्यो । तर, डेब्यु गरेका जितबहादुर भने सबैको नजरमा पार्न सफल भए । उमेर समूहमा नेपालकै प्रतिनिधित्व गरिसकेका जितबहादुर गण्डकीको सिनियर टोलीबाट भने पहिलोपटक अवसरमा पाएका हुन् । उक्त अवसरलाई उनले सम्भावनामा बदल्न सफल रहे ।

सानैदेखि भलिबल खेल्ने इच्छा भएका जितबहादुर ‘दाईहरु’ खेलेको लुकीलुकी हेर्ने गर्थे । त्यहि लगावका कारण उनलाई दाईहरुले बेलाबखत खेल्ने मौका दिन्थे । मौकालाई जितबहादुरले भरपुर सदुपयोग गर्थे । सोही कारण गत असारमा भएको प्रथम सहाना प्रधान स्मृति यू–१९ भलिबल प्रतियोगितामा स्याङ्जा जिल्ला हुँदै प्रदेशबाट छनोटमा परे ।
पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता खेलेका जितबहादुरले टोलीलाई च्याम्पियन मात्र बनाएनन् । आफु प्रतियोगिताकै  वेष्ट लिविरो घोषित भए । सोही प्रदर्शनका आधारमा उनी गत असोजमा श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा पर्न सफल भए । पहिलोपटक देशको प्रतिनिधित्व गर्ने अवसर पाए । उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । त्यसमा उनले उत्कृष्ट प्रदर्शन गरे ।
जितबहादुर अहिले गण्डकीको मात्र होइन राष्ट्रिय टोलीकै हिस्सेदार बन्न सफल भएका छन् । उनलाई विभागीय टोलीबाट समेत अफर आइसकेको छ । तर, केही समय गण्डकी प्रदेशबाट खेल्ने उनको योजना छ ।

रचना चौधरी (क्रिकेट)
स्कुलको खेल मैदानबाट सुरू भएको रचना चौधरीको क्रिकेट यात्रा यू–१९ विश्वकपसम्म आइपुगेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा जन्मिएकी उनी बाल्यकालमै पोखरा बसाइँसरेकी थिइन् । मजदुरी गर्ने बुबाआमाले उनलाई स्कुल भर्ना गराएका थिए । तर, रचनाको क्रिकेटप्रतिको रुचि भने लुकेको थियो । क्रिकेट खेल्न चाहिएको सामान किन्न पैसा मागेपछि मात्रै उनका अभिभावकले थाहा पाए—रचना खेलाडी बन्दैछिन् । पोखराका स्कुलमा मेरिलिबोन क्रिकेट क्लबअन्तर्गत सञ्चालन भएको एमसीसी फाउन्डेशन कार्यक्रमले उनलाई क्रिकेटमा थप नजिक बनायो । स्कुलस्तरमै देखिएको उनको प्रतिभा प्रशिक्षकहरूको नजरमा प¥यो र उनले जिल्ला हुँदै गण्डकी प्रदेशको टिममा स्थान बनाइन् । प्रधानमन्त्री (पीएम) कपमा राम्रो प्रदर्शन गरेपछि उनी यू–१९ विश्वकप छनोटको लागि क्लोज क्याम्पमा परिन् ।
छनोट प्रतियोगितामा एकै खेलमा चार विकेटसहित ११ विकेट लिँदै उनी नेपालकी सर्वाधिक सफल बलर बनिन् । त्यसपछि एसिया कप र विश्वकपमा पनि अवसर पाइन् । नेपाली महिला टोलीले पहिलोपटक विश्वकप खेल्दा उनी पनि त्यसमा सामेल भइन् । एसिया कप र विश्वकपमा औषत प्रदर्शन गरेकी उनीले गत माघमा घरेलु मैदानमा भएको त्रिदेशीय महिला टी–२० आई सिरिजमा नेपालको सिनियर टोलीबाट डेब्यु गरिन् । डेब्यु खेलमै उनले थाइल्याण्डविरुद्ध विकेटसमेत लिन सफल भइन् । उनले नेपाली महिला राष्ट्रिय टोलीबाट ९ खेल खेलिसकेकी छन् । त्यसयता उनी सिनियर टोलीबाट पनि खेल्दै आएकी छन् ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए ।

त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्