
पाेखरा । राष्ट्रिय युवा संघ नेपालको ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशन पहिलोपटक पर्यटनको राजधानी पोखरामा हुने भएको छ।
महाधिवेशन आउँदो जेठ ९ देखि ११ गतेसम्म पोखराको सभागृहमा हुने युवा संघले मंगलबार(आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।
उक्त महाधिवेशनमा देशभरबाट करिब २ हजार प्रतिनिधिको सहभागिता रहने गरी तयारी थालिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका छन् ।
उनले समाजमा सकारात्मकता बढाउने र आशा जगाउने कार्यमा लाग्नु प्रगतिशील संगठनको कतर्व्य भएको बताउँदै वर्तमान परिवर्तित विश्व परिवेशमा हामीले प्रतिस्पर्धी मात्रै हैन श्रेष्ट बन्न सक्नु पर्ने र त्यसका लागि हरेक क्षेत्रमा सक्षम र सवल युवा निर्माण गर्दै जानु पर्ने बताए ।
बदलिएको परिवेशमा रमाउने मात्रै हैन परिवेशनलाई नै बदल्न सक्ने ताकत सिर्जनशील युवामा हुने र यस्तै सिर्जनशील नवयुवाहरुको नेतृत्वदायी संगठन राष्ट्रिय युवा संघ नेपाल भएको उनको भनाइ छ।
अध्यक्ष थेबेका अनुसार नेपालमा युवा जनसंख्याको आजको चरणलाई जानसांख्यिक लाभांशको अवसर भनिएको छ। नेपालको कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत युवाको जनसंख्या रहेको छ।
श्रम योग्य १५ देखि ५९ उमेर समूहको जनसंख्याको आँकडा ६३% प्रतिशत छ। यहाँको क्रियाशील जनसंख्याको आकार हेर्दा नै यो अवस्थालाई जानसांख्यिक लाभांश (पपुलेसन डिभिडेन्ट) को अवस्था भनिएको हो।
यही जानसांख्यिक लाभांशलाई प्रयोग गर्ने हो भने नेपालले सजिलै उच्च आर्थिक वृद्धिदरलाई हाशील गर्न सक्ने तर, यो अवस्था कतै खेर जाने त होइन भन्ने आशंका बढिरहेको उनले बताए ।
यस परिस्थितिमा युवाहरुको सर्वाङ्गिण विकासमा सम्पुर्ण राज्य संरचना परिचालिन हुनु पर्ने र त्यस तर्फ युवा आन्दोलन निर्देशित हुनु पर्ने देखिएको बताउँदै यस विषयलाई हृदयंगम गरेर संघको दशौं महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोको रुपमा स्थापित गरिने उनले स्पष्ट पारे ।
अध्यक्ष थेवेले नेपालमा युवाहरुलाई स्वरोजगार एवं उद्यमी बनाउन विना धितोमा ऋण दिने व्यबस्था आफ्नो पहलमा नै सरकारले ल्याउन लागेको बताए।
उनले अब राज्यको भाग्य विधाता र सफलताको बीजको रुपमा नेपाली युवाले काम गर्नुपर्ने भएको औंल्याउँदै नेपाली समाजको आगामि दिनको दिशा र बाटो बदलिएको बताए ।
नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र संगठनको विधान, नीति र कार्यक्रमहरूका बारेमा समीक्षा र संशोधन गर्ने उनले बताए ।
यसैबीच उनले अबको बाटो “कुर्बानीको मात्रै नभई नव निर्माणको हुने स्पष्ट पारे । थेबेका अनुसार जुन वाटोमा सफल यात्रीको रुपमा युवाहरु अभियान्ता भई यात्रा पार गर्नुपर्नेछ । यसको अर्थ “समृद्ध नेपाल र सुखी नेपाली” को यात्रा भएको र यो यात्रालाई सफलतापूर्वक पार गराउने कर्तव्य अब सम्पूर्ण युवाहरुको कांधमा आएको बताए । जसको नेतृत्व राष्ट्रिय युवा संघले गर्नुपर्ने भएकोले यस विषयलाई संघले दशौ महाधिवेशनबाट संकल्प गर्नुपर्ने स्पष्ट पारे।
यस्तै संघका ईन्चार्ज राजिव पहारीले यस महाधिवेशनले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले विभिन्न १२ देशका प्रतिनिधिहरुको उपस्थिति यस महाधिवेशनमा हुने बताए।
त्यस्तै उनले विगतमा चंखपूरसम्म पैलिएको पोखराको फेवाताल अहिले यसको आकार घट्दै आएको बताउँदै फेवाताल पोखरीको रूपमा परिणत हुँदै गएकोमा चिन्त्ता व्यक्त गरेका छन् । यस विषयमा पनि युवा संघले आवाज उठाउने बताए ।
यस महाधिवेशन सम्पन्न गर्न लाग्ने खर्च व्यवस्थापनको लागि संस्थाका सदस्यहरुबाट लेवि, प्रतिनिधि शुल्क, केही सहयोगी दाताको सहयोगबाट व्यबस्थापन गरिएको उनले जानकारी दिए ।
यस्तै महाधिवेशन अवधिभर खानपिनको लागि चामल, दाल देखि लिएर मोहीसम्म सहयोग आउन थालेको संघले जनाएको छ ।