
पोखरा । पोखराको शान्ति स्तूपा नजिकै नगर माइक्रो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
ग १ ख ३८८६ नम्बरको माइक्रो बस शान्ति स्तूपाबाट पोखरा फर्किने क्रममा आज दिउँसो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालक र सहचालकसहित २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको उपचार पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा ब्रेक फेल भएर बस सडकबाट तल पल्टिएको हुन सक्ने अनुमान गरिएको छ। स्थानीयवासीका अनुसार बसमा भारतीय पर्यटक पनि सवार थिए।
दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका थिए। बसलाई भारतीय पर्यटकले रिजर्भ गरी शान्ति स्तूपा घुम्न लगेका थिए। फर्कने क्रममा अनियन्त्रित भएर बस पल्टिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तस्बिरहरू:-