
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधिहरूले आफ्नो चौथो पदस्थापन दिवसलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम, हेमजा शाखामा मनाएका छन्। यस अवसरमा करिब ४० हजार रुपैयाँ बराबरको खाद्यान्न र आवश्यक सामग्री वितरण गरिएको छ।
वडा अध्यक्ष राम मोहन आचार्यले शुभकामना व्यक्त गर्दै भने, “हामीले हरेक वर्ष यो दिवस परिवारविहीनहरूसँग मनाउँदै आएका छौँ। आगामी वर्षमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिनेछौँ।”
कार्यक्रममा आश्रममा बसोबास गर्ने १३७ जना सेवा लाभार्थीका लागि बिहानको खाजा सेवा पनि प्रदान गरियो। यो पहल वडा जनप्रतिनिधि र स्थानीयको सहकार्यमा सम्पन्न भएको हो। गत वर्ष पनि यही अवसरमा हेमजा र चोरपाटन शाखामा खाद्यान्न तथा सहयोग वितरण गरिएको थियो।
मानव सेवामार्फत सकारात्मक सन्देश प्रवाह गर्ने यस कार्यले जनप्रतिनिधिको भूमिकालाई थप जनमुखी बनाएको छ। कार्यक्रममा वडा सदस्य, सामाजिक अभियन्ता, स्थानीयवासी र स्वयंसेवकहरूको बाक्लो उपस्थिति थियो।