युवा संघको महाधिवेशनमा निर्वाचन ढिलाइ, प्रतिनिधिको गुनासो र संगठनको विश्वसनीयतामाथि प्रश्न

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अझै अघि बढ्न सकेको छैन।भोटिङ मेसिन डिजिटल भएको र सेटअपमा समय लाग्ने भएकाले बेलुका ७ बजेसम्म मेसिन तयार हुने तर राति मतदान गर्दा हुलदङ्गाको खतरा हुने भन्दै निर्वाचन भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्णय भएको छ।

यो अवस्थाले महाधिवेशन लम्बिँदा ७७ जिल्लाबाट आएका प्रतिनिधि, स्वयंसेवक र सहभागीहरूको व्यक्तिगत जीवन, व्यवसाय र रोजगारीमा समेत असर परेको गुनासो बढ्दो छ। सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेको खण्डमा छिटोभन्दा छिटो निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने माग प्रतिनिधिहरूले गरेका छन्।महाधिवेशन ९ जेठदेखि ११ जेठसम्म निर्वाचन सम्पन्न गर्ने योजना भए पनि हालसम्म ५–६ दिन बितिसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। सहमति हुन नसकेको र निर्वाचनमा ढिलाइ हुँदा प्रतिनिधिहरू होटेलमा बस्न बाध्य छन्, जसले प्रतिदिन २५ देखि ३० हजार खर्च हुने गरेको छ। यस्तो अवस्थाले प्रतिनिधिहरूमा निराशा छाएको छ। हामीले धेरै समय खर्च गरिसक्यौं, तर केही प्रगति भएको छैन। अब छिटो निर्वाचन गरेर टुंगो लगाउनुपर्छ, प्रतिनिधिले गुनासो गरेका छन्। निर्वाचन प्रक्रिया अवरुद्ध हुँदा संगठनको गतिशीलता र कार्यकर्ताहरूको मनोबलमा समेत असर परेको छ।राष्ट्रिय युवा संघ नेपाल नेपाली युवाहरूको आन्दोलनको महत्वपूर्ण हिस्सा हो, जसले देशको नेतृत्व निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।

यस महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै र पद सीमित हुँदा सहमति जुटाउन कठिनाइ भएको छ। नेतृत्व चयनमा देखिएको असहजताले संगठनभित्रै तनाव सिर्जना गरेको छ। सहमति वा निर्वाचन जुनसुकै माध्यमबाट भए पनि नेतृत्व चयन प्रक्रियालाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ।

महाधिवेशनको ढिलाइले संगठनको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न थालेको छ। प्रतिनिधिहरूले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गर्न नेतृत्वलाई दबाब दिएका छन्।

युवा संघले देशको नेतृत्व उत्पादन गर्ने संगठनको रूपमा चिनिन्छ, तर यस्तो लथालिङ्ग अवस्थाले संगठनको छविमा असर पर्छ अबको केही दिनभित्र सहमति वा निर्वाचनमार्फत नेतृत्व चयन नभए थप जटिलता बढ्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्