शुक्रबारदेखि म्याग्दीको नारच्याङमा ‘अन्नपूर्ण हिरक महोत्सव’ हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । विश्वको दशाैं अग्लो हिमाल अन्नपूर्ण–प्रथम (८,०९१ मिटर) को पहिलो सफल आरोहणको ७५औँ वर्षगाँठको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ‘अन्नपूर्ण हिरक महोत्सव’ हुने भएको छ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई नेपाली शेर्पाहरूले अक्सिजन बिना यो हिमालको शिखर चुमेर विश्व कीर्तिमान कायम गरेका थिए। यो ऐतिहासिक उपलब्धिको सम्मानमा जेठ १६ देखि २२ गतेसम्म सांस्कृतिक र पर्यटकीय कार्यक्रमसहित भव्य महोत्सव मनाइने भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) गण्डकीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको घोषणा गरेका छन्। नारच्याङ र अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरमा सात दिनसम्म चल्ने यो महोत्सवले नेपालको पर्वतारोहण इतिहासलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले यो क्षेत्रको प्रवर्द्धनका लागि ७५ वर्ष पूरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ आयोजना गरिएकाे जानकारी दिए। उनले भने, “अन्नपूर्ण–प्रथम हिमाल क्षेत्र ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै समृद्ध छ, तर पर्यटकीय दृष्टिले अझै धेरै अवसर बाँकी छ।”

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य

सन् १९५० को जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई नेपाली शेर्पाहरूले अक्सिजन बिना ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण–प्रथम हिमालको पहिलो सफल आरोहण गरेका थिए, जुन नेपालको पर्यटन र पर्वतारोहण इतिहासमा सुनौलो पृष्ठ बनेको छ। यो उपलब्धिलाई स्मरण गर्दै महोत्सवले स्थानीय समुदायको सहभागिता र हिमाल संरक्षणमा समेत जोड दिने उनकाे भनाई छ ।

७ दिनसम्म भव्य रूपमा आयोजना हुने ‘अन्नपूर्ण हिरक महोत्सव’मा अन्नपूर्ण १ हिमालका पहिलो आरोहीहरू मौरिस हर्जोग, लुईस लचेन र शेर्पा सोनाम वाङ्चुकको शालिक अनावरण गरिनेछ।

नारच्याङमा स्थापित यो शालिकको अनावरण प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ। फ्रान्ससहित युरोप र अमेरिकाका १२ देशका राजदूतहरूको सहभागिता अपेक्षा गरिएको छ भने मौरिस हर्जोगका छोरा र परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइसकेको छ।

संसारभर चिनिएको अन्नपूर्ण क्षेत्रको अझ प्रचारप्रसार गर्दै हिमालय पर्यटनमार्फत नेपालमा थप पर्यटक भित्र्याउने लक्ष्यसहित आयोजना गरिएको यो महोत्सवले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने

अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले, कुनै पनि कार्यक्रम वा महोत्सव सम्बन्धित स्थानमै गएर मनाइयो भनेमात्र त्यसले सार्थकता पाउँने बताए । उनले भने- ‘ठुलो महत्व बोकेको अन्नपूर्ण १ हिमाली क्षेत्र अझै पनि ओझेलमा परेको अवस्थामा, अन्नपूर्ण गाउँपालिकाले हालसालै गुरुयोजना बनाएर आधार शिविरको व्यवस्थापन, हिमतालको संरक्षण तथा प्रवर्द्धन, र पर्यटकलाई आवश्यक पर्ने होटललगायत पूर्वाधार निर्माणमा जुटिरहेको छ।’

सन् १९५० मा मौरिस हर्जोगको टोलीले अन्नपूर्ण–प्रथमको सफल आरोहण गरेर ८,००० मिटरभन्दा अग्लो हिमाल चढ्ने पहिलो कीर्तिमान राखेको थियो। यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा स्वर्णिम अध्याय थप्यो। हिरक महोत्सवले यो गौरवपूर्ण यात्रालाई स्मरण गर्दै नेपालको पर्यटन र सांस्कृतिक सम्पदालाई विश्वमाझ उजागर गर्नेछ।

कार्यक्रम सञ्चालन गर्दै टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौला

‘अन्नपूर्ण हिरक महोत्सव’ ले स्थानीय समुदाय, पर्यटन व्यवसायी र विश्वभरका पर्वतारोहीहरूलाई एकै ठाउँमा ल्याएर नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

आयोजकहरूले यो महोत्सवले अन्नपूर्ण क्षेत्रको पर्यटन विकासमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन्। यो हिरक जयन्तीले नेपालको पर्वतारोहण इतिहासलाई सम्मान गर्दै विश्व पर्यटन बजारमा नेपालको स्थानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्