२० औँ असारे रोपाइँ महोत्सव गुँदेताल स्थित फाँटमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा पर्यटन परिषद्ले आयोजना गर्ने २० औँ संस्करणको असारे रोपाइँ महोत्सव पोखरा २६ गुँदेताल स्थित फाँटमा हुने भएको छ । आयोजकले मङ्गलबार महाेत्सवस्थलमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार यहीं असार १५ गते २२ औँ धान दिवसको अवसरमा हुने महोत्सवको तयारीमा तीव्रता दिइएको छ ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ हुने यस महोत्सवको शान्तिप्रेमी आमा समूह पोखरा-२६ तालबेशीले स्थानीय संयोजनको जिम्मेवारी लिएको परिषदका महासचिव जीवनराज सापकोटाले जानकारी दिए । महोत्सवको प्रवर्द्धकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् । पोखरा २६ मा रहेका खास्टे, न्युरेनी, गुँदे ताललगायत पर्यटकीय स्थलहरूको प्रचारप्रसारसँगै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनका लागि गुँदेतालमा रोपाइँ महोत्सव गर्न लागिएको महासचिव सापकोटाले जनाए । रोपाइँ महोत्सवको माध्यमबाट युवाहरूलाई कृषिप्रति आकर्षित गर्न र बाह्य पर्यटकहरूलाई नेपालको मौलिक संस्कृतिबारेमा जानकारी दिने उद्देश्यले राखिएको छ ।

 पत्रकार सम्मेलनमा बोल्दै पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पोखरा २६ मा रहेको गुँदे ताल र वरपरको क्षेत्रमा पर्यटन विकासका लागि करिब १५ करोडको गुरुयोजना तयार भएको जानकारी दिए । उनले जैविक विविधतालाई असर नपर्ने गरि ‘बर्ड वाचिङ सेन्टर’ निर्माण गरिने जनाउँदै यसमा स्थानीयको साथ र सहयोग आवश्यक पर्ने बताए ।

 पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषदका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक तारानाथ पहारीले कृषकहरूलाई प्रोत्साहन, सम्मान र आफ्नो पेशा प्रति अभिप्रेरित गर्नका लागि यसप्रकारको महोत्सव उपयोगी हुने बताए । महोत्सवको अवसरमा ७ हल गोरुले खेत हिल्याउने, हिलोमा माछा समात्ने प्रतियोगिता, पत्रकारहरूको दौड प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, आमा समुह दौड प्रतियोगिता लगायत थुप्रै मनोरञ्जनात्मक प्रतियोगिताहरू राखिएको अध्यक्ष पहारीले बताए । सो अवसरमा राष्ट्रिय कलाकारहरू चिज गुरुङ, शिवहरी ढुङ्गाना, मधु थापा मगर र बालकाशी गुरुङ लगायतको साँगीतिक प्रस्तुती रहने छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले २० औँ संस्करणको असारे रोपाइँ महोत्सव लेखनाथ क्षेत्रमा हुनु गर्वको कुरा भएकाले स्थानीयले त्यसको फाईदा लिनुपर्ने बताए । स्थापनाकालदेखि नै लेखनाथ उद्योग वाणिज्य सङ्घले स्थापना कालदेखि नै यस क्षेत्रको पर्यटन र कृषि विकासका लागि लेखनाथ महोत्सव लगायतका मेला महोत्सव एवं कार्यक्रमहरू गर्दै आइरहेको बताउँदै रोपाइँ महोत्सव सफल पार्नका लागि सङ्घले आवश्यक जिम्मेवारी बहन गर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं असारे रोपाइँ महोत्सव हुने खेतका जग्गाधनी एलपी ढुङ्गानाले गुँदे ताल किनार तालबेशीमा महोत्सव हुने भएपछि आफू निकै उत्साहित बनेको बताए । महोत्सव सुरक्षित रुपमा सफल पार्नका सुरक्षा निकायहरुसँग पहल भईरहेको जनाउँदै ढुङ्गानाले महोत्सवमा दही चिउरा, सेल तरकारी लगायतका स्थानीय मौलिक खानाका स्टलहरु समेत राखिने र त्यसको तयारी भईरहेको जनाए ।

महोत्सव सम्पन्न गर्नका लागि पोखरा पर्यटन परिषदका अध्यक्ष पहारीको अध्यक्षतामा ४३ सदस्यीय मूल आयोजक समिति, १९ वटा उपसिमिति र २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । महोत्सवमा स्थानीय संयोजकको जिम्मेवारी शान्तिप्रेमी आमा समुहका अध्यक्ष देवीमाया ढुङ्गानालाई दिईएको छ ।

पत्रकार सम्मेलनमा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका सहसंयोजक दामोदर भक्त थापा,शान्तिप्रेमी आमा समूहका अध्यक्ष देवीमाया ढुङ्गाना लगायतले बोलेका थिए । महाेत्सवको दिनमा पोखराका विभिन्न स्थानबाट महोत्सवस्थलसम्म लैजान तथा ल्याउनका लागि नि:शुल्क बसको समेत व्यवस्था गरिने महासचिव सापकोटाले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्