
पोखरा। अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकास कार्यक्रमबारे बुधबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय सरकार र जनताबीचको प्रत्यक्ष संवादलाई सशक्त बनाएको स्पष्ट देखिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उठाइएका अधिकांश गुनासोहरू यथार्थ रहेको स्वीकार गर्दै पालिकाले स्रोत र कानुनी दायराभित्र रहेर योजनाबद्ध रूपमा समाधानतर्फ अघि बढिरहेको बताए। “हामी काम नगरेका होइनौं, स्रोत र कानुनी प्रक्रियाभित्र बसेर काम गरिरहेका छौं,” अध्यक्ष केसीले स्पष्ट पारे।अब पालिकाकेा छिट्टै जग्गा प्राप्ति गरेर भवन शिलन्यास गरिने कुरामा जेाड दिए उपाध्यक्ष चन्द्रकला अधिकारीले नागरिक गुनासो सुन्ने मात्र नभई व्यवहारिक समाधानमा प्रतिबद्धता जनाउँदै महिला, बालबालिका, जेष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित योजना ल्याइने स्पष्ट पारिन्।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहितको तेस्रो चौमासिक प्रतिवेदन सार्वजनिक गरे। प्रतिवेदनमा ११ वटै वडाबाट प्राप्त योजना र उपलब्धिहरू समेटिएको छ। कृषि शाखाले उत्पादनमा तालिम र प्रविधिलाई प्राथमिकता दिएको र स्वास्थ्य शाखाले सेवा विस्तारका क्रममा चुनौतिका बाबजुद महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ।
वडा नं. २ का अध्यक्ष पिताम्बर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न वडाबाट आएका स्थानीयवासीहरूले बजेटको उपयोग, पूर्वाधार निर्माण, लक्षित वर्गका योजना, शिक्षा, स्वास्थ्य तथा पारदर्शिता सम्बन्धी प्रश्न र गुनासोहरू सार्वजनिक रूपमा प्रस्तुत गरे।
स्थानीय डण्डपानी भण्डारीले वडा कार्यालय अगाडि लामो समयदेखि थन्किएका सिमेन्टका बोराहरूको विषय उठाउँदै विकास योजनामा ढिलासुस्ती र जनप्रतिनिधिको उपस्थिति अभावप्रति असन्तुष्टि व्यक्त गरे। यो विवरण उनको भनाइ र स्थलगत अवलोकनबाट पुष्टि भएको हो।
मुना भण्डारीले सुविधासम्पन्न निशुल्क स्थान र आवश्यक पूर्वाधार उपलब्ध हुँदाहुँदै जनताको करको पैसा खर्चेर पालिका कार्यालय अन्यत्र सार्नुभन्दा अहिलेको स्थानमै निर्माण गर्नु जनताको हितमा हुने बताइन्।
जोमाया देवकोटाले लक्षित वर्ग उपेक्षित रहेको, निगरानी कमजोर रहेको तथा सामाजिक न्याय र समावेशी विकासप्रति गम्भीर प्रश्न उठाइन्। स्वास्थ्य क्षेत्रतर्फ, ऋषिराम भण्डारीले निर्माण सम्पन्न स्वास्थ्य भवनमा चिकित्सकको अभावले सेवामा असहजता भएको बताए। स्थलगत तथ्य संकलनबाट पनि स्वास्थ्य सेवा गुणस्तरमा समस्या देखिएको पुष्टि हुन्छ।
सिमेन्ट व्यवस्थापनदेखि स्वास्थ्य भवनमा डाक्टरको उपस्थितिसम्म, महिला सशक्तीकरणदेखि जेब्रा क्रसिङजस्ता विषयमा योजना बनिसकेको र कार्यान्वयन पनि थालिएको जानकारी गराए। साथै, जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा जनसहकार्यबाट विकासको नयाँ आधार तयार भइरहेको उल्लेख गर्दै जनचासोलाई पालिकाको भावी नीति तथा कार्ययोजनाको मार्गनिर्देशनका रूपमा लिएको बताए।
साझेदारी योजनाका रूपमा सञ्चालित लघु उद्यम प्रवर्द्धन (MEDPA) र सुरक्षित आप्रवासन कार्यक्रम (SaMi) मार्फत गाउँपालिकाले रोजगारी, व्यवसाय र सामाजिक सुरक्षामा योगदान पुर्याएको उल्लेख गरिएको छ।
माछापुच्छ्रे मावि व्यवस्थापन समिति अध्यक्ष मनपति भण्डारीले सामुदायिक विद्यालय सुधारमा पालिका, शिक्षक, अभिभावक र समुदायको भूमिकाको महत्त्वबारे बोले।
अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमार्फत स्थानीयवासी सेवा प्रवाहप्रति सामान्यतः सन्तुष्ट देखिएका छन्। सार्वजनिक सुनुवाइ कार्यक्रममा सागर ढकालले सन्देश प्रस्तुत गर्दै अधिकांश सेवाग्राहीले कर्मचारीको व्यवहार सकारात्मक अनुभव गरेको जनाउँदै, केही सेवामा अझ सुधार आवश्यक रहेको जानकारी दिए।
कार्यक्रममा टिपोटकर्ता श्री भद्र पौडेलले सार्वजनिक सुनुवाइले सुशासन र पारदर्शिता प्रवर्द्धनमा सहयोग पुर्याउने धारणा राख्दै, जनप्रतिनिधिले जनभावनाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए।
स्थानीय संवाद, सुझाव र प्रश्नहरूलाई प्राथमिकतामा राख्दै सम्पन्न सार्वजनिक सुनुवाईले अन्नपूर्ण गाउँपालिकाको भावी नीति निर्माणमा जनमतलाई स्पष्ट रूपमा अभिलेखबद्ध गरेको पुष्टि भएको छ। कार्यक्रम सञ्चालन पत्रकार इन्द्र प्रसाद पौडेलले गरेका थिए।