जेनजी आन्दोलनपछि प्रेस चौतारीको चिन्ता : पत्रकारमाथि धम्की,आक्रमणप्रति भर्त्सना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । जेनजी पुस्ताको नाममा भएको आन्दोलनपछि उत्पन्न असहज परिस्थितिप्रति प्रेस चौतारी नेपाल गम्भीर बनेको छ । आन्दोलनका क्रममा प्रहरी गोली लागेर ३० जनाको ज्यान जानु, स्कुले पोशाकमा रहेका विद्यार्थीसमेत मारिनु र प्रधानमन्त्रीको राजीनामापछि पनि सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण, तोडफोड, आगजनी र लुटपाट हुनुले चौतारी स्तब्ध भएको जनाएको छ ।

प्रेस चौतारीले बुधबार विज्ञप्ति जारी गर्दै वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनसहितका प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै, संविधानले प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका अन्तर्राष्ट्रिय मान्यताहरुको अभ्यासमा जोड दिएको छ ।

सञ्चारकर्मीमाथि आक्रमण

चौतारीले आन्दोलनको क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि आक्रमण हुनु दुःखद भएको बताएको छ । “जनतालाई सुसूचित गराउन खटिएका पत्रकारमाथि भएको आक्रमण र सञ्चारमाध्यममा गरिएको तोडफोड, आगजनी र आतंकपूर्ण गतिविधिको हामी कडा शब्दमा भर्त्सना गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारमाथि धम्कीप्रति चिन्ता

लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय चौतारीका अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत र केन्द्रीय सदस्य सुमन ढुंगानालाई जेन्जी आन्दोलनका नाममा अराजक समूहले धम्की दिएको घटनाप्रति संगठन गम्भीर बनेको छ । उनीहरूसहित अन्य पत्रकारलाई पनि धम्की र चेतावनी आएको विवरण प्राप्त भएको चौतारीले जनाएको छ ।

“लोकतन्त्रमा आफ्ना विचार राख्ने पूर्ण अधिकार हुन्छ, तर पत्रकारमाथिको धम्की लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो,” चौतारीको भनाइ छ । यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिमाथि कानुनी कारबाही गर्न र पत्रकारलाई सुरक्षा दिन राज्यसँग माग गरिएको छ ।

समाचार संकलन सहज बनाउन माग

प्रेस स्वतन्त्रता, लोकतन्त्र र शान्तिपूर्वक लेख्न तथा बोल्न पाउने अधिकारको पक्षमा निरन्तर लडिरहने प्रतिवद्धता जनाउँदै चौतारीले घाइते सञ्चारकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, उपचारको यथोचित व्यवस्था गर्न र समाचार संकलन निर्वाध बनाउन राज्यका सबै निकाय र नेपाली सेनालाई अपील गरेको छ ।

महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा संकटपूर्ण अवस्थामा पनि पत्रकारले सुरक्षित रहेर सञ्चारकर्ममा लाग्नुपर्नेमा जोड दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्