वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं ।
नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ऐतिहासिक जित हात पारेको छ। शनिबार सम्पन्न खेलमा नेपालले १९ रनले वेस्ट इन्डिजलाई पराजित गर्दै नयाँ इतिहास रचेको हो।

१४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो। पाहुनातर्फ नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रन जोडे। नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो। नेपालका लागि skipper रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन जोडे। कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रनको योगदान गरे भने गुल्शन झाले २२ रन बनाए। दिपेन्द्रसिंह ऐरीले पनि १७ रन जोडे।

१२ रनमै दुई विकेट गुमाएको अवस्थामा रोहित र मल्लले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। तर अन्तिमतिर फिनिसिङ कमजोर हुँदा नेपाल १५० रन पुर्‍याउन सकेन।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर सर्वाधिक सफल रहँदै ४ ओभरमा २० रन मात्र खर्चेर ४ विकेट हात पारे। डेब्यू गरेका नविन विदायसीले ३ विकेट लिए भने कप्तान अकिल होसेनले १ विकेट पाए।

नेपालले यसअघि भारत, अफगानिस्तान र बंगलादेशजस्ता ठूला टोलीसँग मुख्य प्रतियोगितामा मात्र खेल्ने अवसर पाएको थियो। तर टेस्ट राष्ट्रलाई पराजित गर्ने सफलता भने कहिल्यै हासिल गर्न सकेको थिएन। आजको जितसँगै नेपालले पहिलोपटक फूल मेम्बर टोलीलाई हराउँदै ऐतिहासिक क्षण आफ्नो नाममा लेखेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्