
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहने भन्दै टीकाको दिनमा समेत पानी पर्ने सम्भावना औंल्याएको छ। विभागले शनिबार साँझ ६ बजे जारी गरेको दशैं विशेष मौसम बुलेटिनमार्फत अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६) का दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो।
बुलेटिनअनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् टीकाको दिन पानी पर्ने सम्भावना बढी रहेको छ। टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र, कोशी प्रदेशका पहाड र तराई भू–भागका केही स्थान, साथै मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, असोज १५ गते नवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। असोज १४ गते अष्टमीका दिन भने बागमती र गण्डकी प्रदेशका पहाड तथा कोशी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा वर्षा हुने सम्भावना औंल्याइएको छ।
हाल मनसुन वायु केही कमजोर भए पनि नेपालबाट औपचारिक रुपमा बाहिरिएको छैन। मौसम विभागका अनुसार यस वर्ष मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) हो, जुन दिन यसपटक दशैंको टीका परेको छ। यही कारण दशैं अवधिभर मनसुनी प्रभाव रहने देखिएको विभागले स्पष्ट गरेको छ।
विभागले दशैंमा यात्रा र अन्य गतिविधिका क्रममा मौसमको अद्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।