
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बर्षाजन्य जोखिम बढेको अवस्थामा सञ्चार सम्पर्क विच्छेद हुन नदिन मातहतका निकायहरूलाई निर्देशन दिएको छ।
शनिबार मन्त्रालयमा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र संस्थाका पदाधिकारीहरूलाई आगामी तीन दिन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिए।
मन्त्री खरेलले विपद् व्यवस्थापनका बेला सञ्चार माध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गर्दै जनतालाई समयमै सुसूचित गर्ने र सुरक्षासम्बन्धी विभिन्न उपायहरू अवलम्बन गर्न प्रोत्साहित गर्ने सन्देशमूलक सामग्री प्रकाशन तथा प्रसार गर्नुपर्नेमा जोड दिए।
सञ्चार सेवा कुनै पनि कारणले अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा मन्त्रालयले सम्बन्धित निकायहरूसँग सम्पर्क गर्न सकिने व्यवस्था पनि गरेको छ। त्यसका लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३, साथै मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।