
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बैठक बस्नेगरी आह्वान गरेकी हुन्।
भट्टका अनुसार परिषद्को बैठकले हालका विपद्पछि राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी–पहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी बासस्थानको व्यवस्था लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्नेछ।
उनले अविरल वर्षापछि आएका बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु, ६ जना बेपत्ता, र २४ जना घाइते भएको जानकारी दिए। घाइतेहरूको उपचार प्रशासन कार्यालयको समन्वयमा निशुल्क रूपमा भइरहेको र पीडित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण भइरहेको पनि उनले बताए।
भट्टले भने, ‘केही स्थानमा अझै खोज तथा उद्धार कार्य जारी छ। त्यसैले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।’