
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गरिने कार्यतालिका स्वीकृत गरेको छ। आयोगको सोमबार बसेको बैठकले निर्वाचनको सम्पूर्ण कार्यक्रमलाई औपचारिक रूपमा स्वीकृति दिएको हो।
आयोगद्वारा सार्वजनिक कार्यतालिका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न सकिनेछ। आयोगले दर्ता कायम रहेका दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको स्पष्ट पारेको छ।
प्रत्यक्ष प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार अवधि रहनेछ। त्यसपछि निर्वाचन प्रचार निषेध अवधिमा प्रवेश हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ र त्यसपछि मतगणना सुरु गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि भने मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र पुस १८ र १९ गते दलहरूले उम्मेदवारहरूको बन्दसूची पेश गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूले कात्तिक ३० गतेभन्दा अघि आफ्नो दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्नेछ।
आयोगले निर्वाचन तयारीका क्रममा राजनीतिक दल, सरोकारवाला निकाय र अन्य साझेदारहरूसँग नियमित परामर्श र समन्वय गर्दै अघि बढ्ने जनाएको छ।