पोखरा ।
डाउन टिल डस्क प्रालिको आयोजनामा कात्तिकको अन्तिम साता पोखरामा हुने ‘पोखरा एन्ड्युरो साइक्लिङ रेस’काे तयारी तिव्र पारिएकाे छ । पोखरा–१३ आर्वाविजयमा आयोजना हुने यो साहसिक साइक्लिङ प्रतिस्पर्धाको तेस्रो संस्करण कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रालिका व्यवस्थापकीय निर्देशक तथा रेस निर्देशक सुनिलचन्द्र शर्माले अनुसार यो वर्षको प्रतियोगितामा नेपालसहित नौ देशका ६० जना साइक्लिष्टले करिब १.६ किलोमिटर दुरीको डाउनहिल ट्रेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए । सहभागी देशहरूमा नेपाल, अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलंकाका साइक्लिष्टहरू रहेका छन्।
उनका अनुसार प्रतियोगिता छवटा फरक इभेन्टमा सञ्चालन हुनेछ— जुनियर (१२–१८ वर्ष), पुरुष एलिट (१९ वर्षमाथि), खुला महिला (१९ वर्षमाथि), माष्टर ‘ए’ पुरुष (३०–३९ वर्ष), माष्टर ‘बी’ पुरुष (४०–४९ वर्ष) र भेट्रान्स पुरुष (५० वर्षमाथि)। उनले भने, “एन्ड्युरो साइक्लिङ एउटा साहसिक र जोखिमपूर्ण खेल हो, जसमा सानो गोरेटो बाटो हुँदै डाँडाबाट तल झर्नु पर्छ, त्यसैले यो शारीरिक र मानसिक दुवै चुनौतीपूर्ण हुन्छ।”

आर्वालाई साइक्लिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित डाउन टिल डस्क प्रालिले सन् २०२० देखि यो प्रतियोगिता सुरु गरेको हो। हालसम्म ६ वटा साइक्लिङ ट्रेल निर्माण गरिएका छन्। प्रालिले हरेक वर्ष करिब ५ लाख रुपैयाँ खर्च गरी ट्रेल मर्मत र नयाँ ट्रेल निर्माण गर्दै आएको र पाँच वर्षमा करिब २५ लाख रुपैयाँ लगानी भइसकेको शर्माले जानकारी दिए।
“निरन्तर वर्षाका कारण ट्रेलहरूमा क्षति हुने भएकाले हरेक वर्ष मर्मत र नयाँ ट्रेल निर्माणमा ध्यान दिइरहेका छौं,” उनले भने, “अब साइक्लिङका आवश्यक पूर्वाधार थप सुदृढ बनाउँदै अघि बढ्ने योजना छ।”
सुरक्षाका लागि १४ सदस्यीय मेडिकल टिम तयारी अवस्थामा रहनेछ। दुई चिकित्सक र चार एम्बुलेन्ससहितको टोलीले प्रतिस्पर्धा अवधिभर रेस्क्यु र स्वास्थ्य सहयोग प्रदान गर्नेछ। प्रतिस्पर्धीहरूले कुल छ वटा ट्रेल पार गरेपछि नतिजा तय गरिनेछ।

प्रत्येक इभेन्टका उत्कृष्ट पाँच साइक्लिष्टलाई साइक्लिङ एसोसिरिज अवार्ड प्रदान गरिने छ। त्यस्तै उत्कृष्ट जम्प गर्ने साइक्लिष्टलाई ३० हजार रुपैयाँ बराबरको विशेष पुरस्कार बी एण्ड बी अस्पतालको प्रायोजनमा वितरण गरिने प्रालिले जनाएको छ।









