पोखरा । दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ।
परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा हुने फुटबल प्रतियाेगिताकाे टाइटल स्पाेन्सर एसियन कंक्रिटाे रहेकाे छ ।
खेलकुदमार्फत युवाहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकास गर्दै सामाजिक एकता र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। प्रतियोगिता पोखरा महानगरपालिका–२२ स्थित सिम्लेपाखा खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फागुन ६ गते बेलुका ५ बजेसम्म दर्ता गर्न सक्नेछन्। टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा अधिकतम ८ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १० जनाको टिम रहने व्यवस्था गरिएको क्लबका अध्यक्ष सुदीप बरालले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ८०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विधागत पुरस्कार प्रदान गरिनेछ।
अखिल नेपाल फुटबल संघ (ANFA) को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलाडी तथा A र B डिभिजन खेलेका खेलाडीलाई सहभागिता निषेध गरिएको छ।
यस वर्ष प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन ७ गते निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिनेछ। परिवर्तन युवा क्लब र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहकार्यमा आयोजना हुने शिविरमा रक्तचाप, मधुमेह परीक्षण, हृदय परीक्षण तथा सामान्य स्वास्थ्य जाँच गरिनेछ। साथै वृद्ध, अशक्त र अपाङ्ग व्यक्तिहरूलाई उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी, समाजमा सकारात्मक योगदान पुर्याउने युवाहरूलाई सम्मान गर्ने उद्देश्यले “Tribhuban Youth Award” प्रदान गर्ने तयारी पनि गरिएको क्लबले जनाएको छ।
परिवर्तन युवा क्लबले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, मिडिया, शुभेच्छुक तथा सरोकारवाला निकायलाई उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।
प्रतियाेगिताबारे जानकारी दिन शनिबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन सचिव दक्षिणा बराल र स्वागत उपाध्यक्ष सरस्वती बरालले गरेका थिए भने सहसचिव प्रेरणा ढकालले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिन् ।










