तनहुँ–१ मा विद्या ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ ।

राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् ।

रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा कमाएको तनहुँ १ मा स्वर्णिम लगायत अन्य उम्मेदवारलाई ढकालले चुनौती दिएका छन् । भुगोललाई नजिकबाट चिनेका र बुझेका ढकालले जनताको लोकप्रिय उम्मेदवारको पहिचान स्थापित गरेका छन् ।

करिब तीन दशक शिक्षण पेशामा बिताएर ‘प्रधानाध्यापक’को सामाजिक छवि बनाएका ढकाल स्थानीय स्तरमा ‘विद्या सर’का नामले परिचित छन् । उमेरले ६० नाघे पनि युवा जोश र परिपक्व व्यवहार उनको विशेषता हो । ढकाल भानु नगरपालिका–४ चुँदीका स्थायी बासिन्दा हुन् ।

सहरमा आलिशान महल र विलासी जीवनको मोह त्यागेर आज पनि बुबाले बनाएको पुरानै ग्रामीण घरमा बस्ने उनको सादगीपनले मतदाताको मन जितिरहेको छ । मतदानासँग मत माग्ने क्रममा उनले भन्छन्, ‘म यहीँको माटो र जनतासँग भिजेको मान्छे हुँ । मलाई भोट माग्न गाउँ आउँदा अरूलाई जस्तो ‘म यति पटक गाउँ आएँ’ भनेर स्पष्टीकरण दिइरहनु पर्दैन ।’ ढकाल केवल राजनीतिकर्मी मात्र नभई तनहुँको विकासका खाका कोर्ने ‘स्वप्नद्रष्टा’ पनि हुन् ।

मादी–मस्र्याङ्दी मोटर मार्ग उनको अवधारणा हो । दमौली–कलेस्ती हुँदै बाइसजाँगर जोड्ने यो रणनीतिक सडकको अवधारणा ल्याउने मुख्य सुत्राधार ढकाल नै हुन् ।
पर्यटन र वातावरणमा उनले चासो दिन्छन् । छिम्केश्वरीमा राष्ट्रिय निकुञ्ज निर्माण, मिर्लुङकोटमा खुला चिडियाखाना र तनहुँसुरको ऐतिहासिकता जोगाउन उनले वर्षौँदेखि पैरवी गर्दै आएका छन् ।

जलाधार विकासमा उनले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । वृहत मस्र्याङ्दी जलाधार क्षेत्र विकास सरोकार समितिको संयोजक बनेर उनले यस क्षेत्रको पानी र प्राकृतिक स्रोतको सदुपयोगका लागि ठोस योगदान दिइसकेका छन् ।
परिवार र समाजका लागि उदाहरणीय व्यक्तित्वको पहिचान पनि उनीसँग छ ।

राजनीतिलाई व्यक्तिगत लाभको पद ठान्ने वर्तमान प्रवृत्ति विपरित ढकालले इमानको राजनीति गरिरहेका छन् । उनका छोरीहरू उच्च शिक्षा हासिल गरी नेपालमै विभिन्न क्षेत्रमा कार्यरत छन् ।

आफ्ना सन्तानलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै सेवा गर्न प्रेरित गर्ने उनको पारिवारिक पृष्ठभूमिले ‘स्वदेशमै रोजगारी’ को नारालाई सार्थक बनाएको देखिन्छ ।

मतदाताको आशाः निष्ठाको राजनीति
५० वर्ष लामो राजनीतिक यात्रामा पटक–पटक जेल र हिरासत भोग्दा पनि विचलित नभएका ढकाल हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।

स्थापित प्रगतिशील साहित्यकार (आमा लघुकथा संग्रहका लेखक) समेत रहेका उनले सुशासन र सभ्य समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
स्थानीय मतदाताहरू भन्छन्, ‘ठुला दलका हेभिवेट नेताहरूले आश्वासन मात्र दिए, तर हाम्रा दुःख–सुखमा साथ दिने र यहाँको भूगोल बुझ्ने त विद्या सर नै हुन् ।’

चुपचाप मत बटुल्दै अगाडि बढेका ढकालको उपस्थितिले यसपटक तनहुँ–१ को चुनावी नतिजा सोचेभन्दा फरक आउन सक्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्