उमेरले छेक्न नसकेको प्रचारः ७८ वर्षीय प्यासी कास्की २ मा रश्मि आचार्यलाई मत माग्दै घरदैलोमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी कास्कीमा दिनदिनै बढ्दो छ । घरदैलो अभियानले तिब्रता पाउँदै गर्दा उम्मेदवारसंगै मत माग्दै हिडँने नेता कार्यकर्ताको भीड देखिन्छ । तर यस पटकको दृष्यमा एउटा विशेष उपस्थितिले सवैको ध्यान खिचिरहेको छ, त्यो हो ७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीको निरन्तर सहभागिता ।
  नेकपा एमालेका तर्फवाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको घरदैलो कार्यक्रममा प्यासी उम्मेदवारसंग संगसंगै हिँडिरहेका छन् । उमेरले ढल्किँदै गएपनि उर्जा र प्रतिवद्धतामा कमी नआएको उनको उपस्थितिले अभियानलाई भावनात्मक उचाई दिएको छ ।
  २०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा बाल्टी चिन्ह लिएर चुनाव जितेका प्यासीलाई अहिले पनि मतदाताले त्यो ऐतिहासिक क्षण सम्झाईदिन्छन् । पञ्चायती व्यवस्थाको कठोर समयमा जनताको मतवाट विजयी बन्नुभएको उनले प्रजातन्त्र स्थापनापछि २०४८ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. ४ बाट समेत विजयी भएका थिए ।
कोशी प्रदेशको प्रदेश प्रमुखको समेत भूमिका निर्वाह गरेका प्यासी घरदैलोका क्रममा मुस्कुराउँदै भन्छन्, “प्रचारमा उमेरले छेक्दैन, विचार र विश्वास बलियो भए पुग्छ ।” उनको यही सक्रियता अहिलेका युवा कार्यकर्ताका लागि प्रेरणा बनेको छ ।
रश्मी आचार्यको अभियानमा प्यासीको उपस्थिति केवल समर्थन मात्र होइन, एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भईरहेको राजनीतिक निरन्तरताको संकेत पनि हो । पाँच छ दशक लामो राजनीतिक यात्राले उनलाई मतदातावीच विश्वासको प्रतिक बनाएको छ ।
घरघरमा पुग्दा मतदाताले उनलाई पुराना संघर्षका दिन सम्झाउँछन् भने युवा पुस्ताले जीवित इतिहासका रुपमा हेर्ने गरेका छन् । कतिपय कार्यकर्ता मात्र होईन मतदाता समेत उनीसँग फोटो र भिडियो बनाउन मोवाईल निकाल्ने गरेका छन् ।
यस पटकको निर्वानमा एमाले उम्मेदवार रश्मी आचार्यको पक्षमा मत माग्दै हिंडिरहेका प्यासीको सन्देश स्पष्ट छ राजनीति केवल पदका लागि मात्र होइन, रिन्तर प्रतिवद्धताका लागि हो । कास्की २ को चुनावी माहोलमा उनको उपस्थिति एउटा सशक्त सन्देश वनिरहेको छ उमेर होइन, उत्साह र आस्थाले नै अभियानलाई चलायमान बनाउँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्