साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन आयोगले मौन अवधि सुरु गर्ने भएको छ । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार मौन अवधिमा राजनीतिक दल, उम्मेदवार तथा तिनका समर्थकहरूले कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया वा प्रचारप्रसार गर्न पाउने छैनन् ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट पक्ष वा विपक्षमा प्रचार सामग्री प्रकाशन, प्रसारण, पोस्ट वा सेयर गर्न समेत रोक लगाइएको छ ।

यसैगरी, बाजागाजा, नाचगान, सार्वजनिक भोज, जुलुस, प्रदर्शन, हुलहुज्जत वा होहल्ला गर्न नपाइने व्यवस्था गरिएको छ । एसएमएस, साउण्ड सिस्टम वा अन्य माध्यम प्रयोग गरी मत माग्न समेत निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदान केन्द्रमा कुनै प्रकारको अवरोध वा बाधा पुर्‍याउने गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ ।

त्यसैगरी, मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचारप्रसार सामग्री ४८ घण्टा अघिनै हटाउनुपर्ने तथा सामाजिक सञ्जालमार्फत राखिएका विज्ञापन सामग्री समेत हटाउनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

मतदान केन्द्र तथा आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र भय–त्रास सिर्जना हुने गतिविधि नगर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्