दुईदिने खेलकुद पत्रकारिता तालिम सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

खेल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने खेलकुद पत्रकारिता तालिम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गरिन् ।

उद्घाटन समारोहमा बोल्दै रजिष्ट्रार भण्डारीले खेलकुद पत्रकारिता तालिमले गण्डकी प्रदेशमा भइरहेका खेल गतिविधि र समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने बताईन् । उनले यस्तो तालिमले खेलकुदसँगै खेल पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने धारणा राखिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले खेलकुद पत्रकारिता तालिमले खेल समाचारको लेखन शैली सुधार गर्न सहयोग पुग्ने बताए ।

मञ्चका अध्यक्ष मान बहादुर घर्ति मगरले पछिल्लो समय पोखरा खेलकुदको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै खेलकुदसम्बन्धी समाचार लेखनलाई सशक्त बनाउन तालिम आयोजना गरिएको बताए ।

शनिवारसम्म सञ्चालन हुने तालिममा भलिबल, क्रिकेट, मार्सलआर्ट, गल्फ र फुटबल विषयमा प्रशिक्षण दिइनेछ । पहिलो दिन शुक्रबार तालिममा भलिबलमा प्रशिक्षक राजन पौडेल, क्रिकेटमा दुर्गानाथ सुबेदी र गल्फमा जीवा गुरुङ ले प्रशिक्षण दिएका थिए ।

मञ्चका उपाध्यक्ष राजाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए ।


तालिममा कास्की जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ६५ जना पत्रकार सहभागी छन ।

तालिमको दोस्रो दिन मार्सलआर्र्टका प्रशिक्षक शुभाष खड्का, फुटबलमा हिमेश बज्राचार्य र क्रिकेट तर्फ पोखरा रंगशालाको मैदानमा प्रत्यक्ष अभ्याससहित प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्