सुधन गुरुङ गृहमन्त्री, नयाँ मन्त्रिपरिषद् फाइनल चरणमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेबीच नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरिएको छ। उच्च स्रोतका अनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउने सहमति दुबै पक्षबीच लगभग पक्का भएको जनाइएको छ।

स्रोतका अनुसार बिहानैदेखि शाह र लामिछाने काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा थिए। यसअघि उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउने प्रयास भएको थियो, तर बालेनले आफू र लामिछानेबीच मिलाउनका लागि सूत्रधारको भूमिका खेलेका सुधनलाई प्रमुख विकल्प बनाएका थिए।

प्रधानमन्त्रीले सपथ लिएलगत्तै कानूनमन्त्रीको रूपमा सोविता गौतमले पनि सपथ लिने तयारी गरेको छ। स्रोतका अनुसार गौतमलाई पहिला स्वास्थ्य मन्त्री वा सभामुख बनाउने सम्भावना छलफलमा रहेको थियो।

गृहमन्त्री नपाएका उपसभापति डीपी अर्याललाई सभामुख बनाउने सहमति पनि स्रोतले जनाएका छन्। अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनाललाई पठाउने विषयमा सहमति भएको छ।

हिजोको छलफलमा बालेनले अर्थमन्त्रीको रूपमा डा. कृष्णहरि बुढाथोकीको नाम अगाडि राखेका थिए। तर स्वर्णिमलाई भावी अर्थमन्त्री घोषणा भइसकेको भएकाले अन्तिम निर्णयमा डा. स्वर्णिमलाई अर्थमन्त्री बनाउने सहमति जुटेको स्रोतले दाबी गरेको छ।

अरु मन्त्रीहरूको नाम पनि अन्तिम फाइनल चरणमा रहेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्