संस्कृति, स्वाद र प्रकृतिको संगम ‘पसगाउँ’: २५ गतेदेखि सुरु हुने महोत्सवले पर्यटकलाई बोलाउँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । यहि २५ गतेदेखि लमजुङको क्व्होलासोँथार गाउँपालिका–६ स्थित सुन्दर गुरुङ बस्ती पसगाउँमा १६औँ महोत्सव आयोजना हुने भएको छ ।  चैत २५ र २६ गते सञ्चालन हुने महोत्सवबारे मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले महोत्सवमार्फत ग्रामीण पर्यटन विस्तार, लोकसंस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताए। उनले ‘संस्कृति, स्वाद र प्राकृतिक सौन्दर्यको संगम—पसगाउँ महोत्सव घुम्नैपर्ने गन्तव्य’का रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा गुरुङ समुदायको मौलिक भेषभूषा, कला–संस्कृति र स्थानीय हस्तकलाको प्रदर्शन गरिनुका साथै कृष्ण चरित्र नृत्य, घाटु, झ्याउरे र सारंगी जस्ता लोपोन्मुख सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ, जसले नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजार, द्वितीय हुनेलाई रु.३० हजार र तृतिय हुनेलाई रु. २० हजार  नगद पुरस्कार र प्रमाणपत्रकाे व्यवस्था गरिएकाे छ  । यस्तै छेलाे प्रतियाेगितामा उत्कृष्ट हुनेलाई आकर्षक नगद पुरस्कारको  पनि व्यवस्था गरिएको छ।

बेँसीसहरबाट मालिङ र साल्मेभञ्ज्याङ हुँदै पुग्न सकिने पसगाउँमा २०६० सालदेखि निरन्तर महोत्सव आयोजना हुँदै आएको छ । आयोजकका अनुसार यस्ता मेला–महोत्सवले ग्रामीण होमस्टे प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्।

समुद्री सतहदेखि करिब १६५० मिटर उचाइमा अवस्थित पसगाउँमा १७० घरधुरीमध्ये २२ घरमा होमस्टे सञ्चालनमा छन् । यहाँ पर्यटकले एक दिन एक रातका लागि करिब रु. १२०० मा बसोबाससहित स्थानीय अर्गानिक परिकार, चिया र आतिथ्यताको अनुभव लिन सक्नेछन् । महोत्सवले गाउँमा स्वरोजगार सिर्जना गर्नुका साथै गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्