पोखरा । पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र स्थानीय खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा २१औं फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालद्वारा आयोजित महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म खहरेचोकदेखि सहिदचोकसम्म सञ्चालन हुनेछ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ।
होटल संघ पोखरा नेपालका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले महोत्सवलाई आधुनिक शैलीमा उद्घाटन गरिने बताए । उनले भाषणभन्दा बढी सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए ।
महोत्सव अवधिभर पञ्चेबाजा प्रतियोगिता, भजन, रत्यौली, सारङ्गी वादन, लोकदोहोरी तथा पप कन्सर्ट, सांस्कृतिक प्रस्तुति र विविध खानाका परिकारहरूको प्रदर्शनी हुनेछन्। सबै कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क रहनेछन्।
आयोजकका अनुसार करिब तीन लाख आन्तरिक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । नयाँ वर्षको अवसर, पर्यटकीय सिजन तथा विद्यालय–कलेज बन्द रहने समय भएकाले पर्यटकको चहलपहल बढ्ने विश्वास गरिएको छ ।
महोत्सवको अवसरमा होटल संघअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिनेछन् भने इ–सेवामार्फत बुकिङ गर्दा १० प्रतिशतसम्म क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ ।
प्रदेशस्तरीय सांस्कृतिक कार्यक्रम, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड तथा खानाको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणका रूपमा रहेका छन् । खहरेबाट निकालिने झाँकी अम्बोट पुगेर औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच, होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले पछिल्लो समय पोखरामा पर्यटन विस्तारको सम्भावना अझ बढ्दै गएको उल्लेख गर्दै यस्ता महोत्सवहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महोत्सव सफल बनाउन १९ वटा उपसमिति गठन गरिएका छन् भने “जाऔं है पोखरा” अभियानमार्फत देशका विभिन्न भागमा प्रचारप्रसारसमेत गरिएको आयोजकले जनाएको छ।









