पोखरा । १४औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ आगामी शुक्रबारदेखि शुरु हुने भएकाे छ । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ” भन्ने मूल नाराका साथ आयोजना हुने २०८३ वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।
विष्णुपादुका क्लबको आयोजनामा हुने उक्त महोत्सवले हेमजालाई कृषि तथा पर्यटनको केन्द्रका रूपमा थप चिनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । हेमजा क्षेत्र आलु उत्पादनका लागि विशेष रूपमा परिचित रहेको क्लवका अध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिए । यहाँका कृषकहरू व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै आएकाे उनकाे भनाई छ ।
महोत्सवमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, आलुको पहाड, आलुका विभिन्न परिकारहरूको स्वाद लिन पाइने व्यवस्था, कृषि सम्बन्धी प्रविधि तथा उपकरणको प्रदर्शनीलगायत विविध कार्यक्रम समावेश गरिनेछ अध्यक्ष श्रेष्ठले बताए । साथै, कृषकहरूका लागि माटो परीक्षण, बाली रोग पहिचान तथा समाधान सम्बन्धी सेवाहरू पनि उपलब्ध गराइने उनकाे भनाई छ ।
कार्यक्रम अवधिभर सांस्कृतिक प्रस्तुति, कृषि झाँकी प्रतियोगिता तथा चर्चित कलाकारहरूको प्रस्तुति पनि रहनेछन् । महोत्सवले कृषि उत्पादनको प्रवर्द्धन, कृषि पर्यटनको विकास तथा स्थानीय आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
हेमजा क्षेत्र अन्नपूर्ण हिमाल, धवलागिरी हिमाल तथा फेवाताल जस्ता पर्यटकीय गन्तव्य नजिक रहेकाले पनि महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजकले महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी हुन आग्रह गरेको छ ।









