सञ्चारिका समूह नेपाल,गण्डकी प्रदेशको सातौँ अधिवेशन सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पत्रकार महिलाहरूको क्षमता तथा दक्षता अभिवृद्धिका साथै महिलाका मुद्दामा वकालत गर्दै आएको क्रियाशील संस्था सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको सातौँ अधिवेशन साेमबार सुरु भएको छ ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले खोजी पत्रकारिताको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सूचनाको हक नै संकटमा पर्ने स्थिति सिर्जना हुन सक्ने बताईन् ।

उनले एआईले पत्रकारितामा प्रभाव पारेको उल्लेख गर्दै पत्रकारिताको महत्व, सिर्जना र मौलिकतालाई अगाडि बढाउनुपर्नेमा जोड दिईन् । साथै, सूचनाको हक प्रयोग गर्न, मिथ्या सूचनाबाट बच्न र सत्यतथ्य तथा निष्पक्ष पत्रकारिता गर्न आवश्यक रहेको बताईन् । उनले महिला पत्रकारहरू भर्चुअल हिंसाको सिकार भइरहेको विषय पनि उठाईन् ।

गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले महिला पत्रकारहरूलाई अगाडि बढाउन तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताईन् ।

सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष कमला पन्थीले महिलाका मुद्दाहरू कम प्राथमिकतामा पर्ने गरेको उल्लेख गरिन् भने उपाध्यक्ष वसन्ती बास्तोलाले नेतृत्व भनेको उत्तराधिकारी तयार गर्नु भएको धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष माया अधिकारी तथा महासचिव जमुना वर्षाले पत्रकारितामा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी पूर्व अध्यक्ष स्मिता अधिकारी, महिला पत्रकारहरूको पेशागत सुरक्षा र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए ।

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आले मगरले गरेकी थिईन् ।

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्