श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम कानून तथा श्रमसम्बन्धी विषयमा पत्रकारहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध कायम गर्ने तथा श्रमिकका हकहितको संरक्षण गर्ने उद्देश्यका साथ श्रम तथा रोजगार कार्यालय पोखराले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कार्यालयका वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलले कार्यालयका कार्यप्रगतिबारे जानकारी दिँदै श्रमिकका हकहित संरक्षण, न्यूनतम पारिश्रमिक कार्यान्वयन, सामाजिक सुरक्षा योजनामा आवद्धता वृद्धि तथा श्रम विवाद समाधानमा कार्यालयले सक्रिय भूमिका खेलेको बताए ।

उनले श्रम क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालाबीच सहकार्य, प्रभावकारी अनुगमन र जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

साथै, यस्ता अन्तरक्रियाले श्रम क्षेत्रका चुनौतीहरू उजागर गर्दै समाधानमुखी पहललाई थप सुदृढ बनाउने उनकाे विश्वास छ ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका शाखा अधिकृत प्रदीपकुमार ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै श्रम सम्बन्धलाई व्यवस्थित र सुदृढ बनाउन यस्ता कार्यक्रमको महत्व औँल्याए ।

कार्यक्रममा नासु दिवाकर शर्माले सहजीकरण गरेका थिए भने कारखाना निरीक्षक ईश्वरमणि भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशका ११ जिल्लालाई कार्यक्षेत्र बनाएको श्रम तथा रोजगार कार्यालय पोखराले श्रम ऐन २०७४, श्रम नियमावली २०७५, ट्रेड युनियन ऐन २०४९, तथा बालश्रम (निषेध तथा नियमन) ऐन २०५६ लगायतका कानूनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको जानकारी दिइयो । साथै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीसमेत कार्यान्वयनको क्रममा रहेको छ ।

कार्यालयले श्रम विवाद समाधान, ट्रेड युनियन दर्ता तथा नवीकरण, प्रतिष्ठान अनुगमन, बालश्रम उद्धार, न्यूनतम पारिश्रमिक कार्यान्वयन, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान, तथा प्रेसर प्लान्ट र बोइलर इजाजतपत्र जारी तथा नवीकरण गर्ने लगायतका महत्वपूर्ण कार्यहरू गर्दै आएको छ ।

कार्यक्रममा कार्यालयले भोगिरहेका चुनौतीहरू पनि प्रस्तुत गरिएको थियो । कर्मचारी अभावका कारण मुद्दा सम्बन्धी काममा कठिनाइ, FEIMS/ILMIS प्रणालीमा बेला–बेला आउने प्राविधिक समस्या, न्यूनतम पारिश्रमिक कार्यान्वयनमा चुनौती, अनौपचारिक क्षेत्रका श्रम विवादमा सम्बन्धित पक्षको न्यून सहभागिता, तथा भौगोलिक जटिलता प्रमुख समस्याका रूपमा उल्लेख गरिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्