पोखरा । कास्कीको मादी गाउँपालिका–५ सुन पदेंलीबाट नगद २ लाख ८७ हजार ८ सय ८० रुपैयाँसहित जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ८ जना पक्राउ परेका छन् ।
बुधबार साँझ करिब ६ बजे जुवातास खेलाउने गरेको सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीकाले जनाएकाे छ । त्यसपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनास्थलबाट नगद २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ ।
पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








