काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले विचलित नभई जनताको पक्षमा उभिन तथा परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरित गरिरहेको बताएका छन् ।
मदन–आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गरेका हुन् । उनले समय बित्दै जाँदा उनीहरूको अभाव झन् गहिरिँदै गएको उल्लेख गरेका छन् ।
ओलीले मदन भण्डारीलाई आफ्नो नेता, साथी तथा सहयोद्धाका रूपमा स्मरण गर्दै उनलाई ‘जनताको बहुदलीय जनवाद’ का अगुवा तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशामा अघि बढाउने नेता भएको बताएका छन् । यस्तै, जीवराज आश्रितलाई कुशल संगठकका रूपमा सम्झिएका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियान जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा अघि बढाइएको उल्लेख गरेका छन् । पछिल्लो दशकमा उक्त अभियानले मानवीय विकास र भौतिक पूर्वाधार निर्माणमा सकारात्मक परिवर्तन ल्याउन थालेको दाबी पनि उनले गरेका छन् ।
ओलीले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित वैचारिक मार्गदर्शन भएको उल्लेख गर्दै त्यसको विरासतले अझै पनि जनताको पक्षमा उभिन प्रेरित गरिरहेको बताएका छन् ।








