हिमाल, पर्यटन र साहसिक दौडको संगम : जेठ २० मा अन्नपूर्ण म्याराथन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‎‎पोखरा । अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना हुन लागेको ‘छैटौं अन्नपूर्ण म्याराथन–२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

‎ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ २० गते हुने म्याराथनको ९० प्रतिशत तयारी पूरा भइसकेको जनाएको हो ।

‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित सञ्चालन हुँदै आएको म्याराथन अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट सुरु भई घान्द्रुकस्थित श्री मेश्रम वराह माध्यमिक विद्यालयको खेलमैदानमा पुगेर समापन हुनेछ । ४२.१९५ किलोमिटर दूरीको प्रतियोगिताले हिमाल, पर्यटन र साहसिक खेल पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

म्याराथन रुट अन्नपूर्ण आधारशिविर, माछापुच्छ्रे आधारशिविर, देउराली, हिमालय, दोभान, सिनुवा, छोम्रोङ, चुईले, कोसोङडाँडा, उरी हुँदै घान्द्रुकसम्म तय गरिएको छ ।

समितिका संयोजक अध्यक्ष ललित गुरुङले हालसम्म १३ विदेशी धावकसहित ४० जनाले नाम दर्ता गराइसकेकाे जानकारी दिए । यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाल्नो उरेटा पनि प्रतियोगितामा सहभागी हुने निश्चित भएको उनले बताए ।

पुरुष तथा महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनमा दुवै विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र पाउने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि ७ हजार रुपैयाँ शुल्क तोकिएको छ । धावकहरूको नाम दर्ता जेठ १५ गतेसम्म खुला रहनेछ भने दर्ता भएका धावकहरूले जेठ १९ गतेभित्र अन्नपूर्ण आधारशिविर पुगेर आयोजकसँग सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।

म्याराथनसँगै अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८३ वितरण, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

‎उक्त रकम अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, एक्याप, गण्डकी प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका, विभिन्न पर्यटन व्यवस्थापन समिति तथा निजी क्षेत्रबाट सहयोग जुटाइने अपेक्षा गरिएको छ ।

म्याराथन सफल बनाउन ५०१ सदस्यीय मूल व्यवस्थापन समिति तथा १३ वटा उपसमिति गठन गरिएको समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्