बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

‎इन्टरनेट र डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपालमा पनि अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुर्व्यवहार, शोषण तथा हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। बालबालिकालाई सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्न सञ्चारकर्मी, अभिभावक, विद्यालय, नीति निर्माता, न्यायिक निकाय, सेवा प्रदायक संस्था तथा समग्र समाजको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूले बताएका छन्।

“अनलाइन यौन दुर्व्यवहार र शोषणबाट बालबालिकालाई सुरक्षित राखौँ” भन्ने नारासहित आयोजित बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना भ्वाइस अफ चिल्ड्रेनले गरेको थियो भने बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को सहकार्य तथा केएनएच जर्मनी र जर्मन कोअपरेसनको सहयोग रहेको थियो।

कार्यक्रममा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले संस्थाले विगत २६ वर्षदेखि सडकमा रहेका, यौन दुर्व्यवहार तथा अन्य जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा बालअधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । उनले गण्डकी प्रदेशमा अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथामका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन भइरहेको बताए ।

उनका अनुसार नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, नियमावली तथा विभिन्न कानुनी व्यवस्था पनि बनेका छन्। तर प्रभावकारी कार्यान्वयनको अभावमा बालबालिका अझै यौन दुर्व्यवहार, शोषण, हिंसा, बेचबिखन तथा ओसारपसारजस्ता घटनाको जोखिममा रहेका छन्। विशेषगरी बालकहरूमाथि हुने यौन दुर्व्यवहारका घटनाहरू पर्याप्त रूपमा बाहिर नआएको उनले उल्लेख गरे।

कार्यक्रमका सहजकर्ता तथा पत्रकार गंगाधर पराजुलीले बालअधिकार प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका विषयमा प्रस्तुति दिएका थिए । उनले संवेदनशील विषयको समाचार सम्प्रेषण गर्दा बालबालिकाको गोपनीयता, सुरक्षा र अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए ।

‎कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपाल प्रहरी साइबर ब्यूरो मा साइबर अपराधसम्बन्धी ७७२ जना बालबालिकासम्बन्धी उजुरी दर्ता भएका थिए, जसमा ३५१ बालक र ४२१ बालिका रहेका छन्। डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार तथा शोषणका घटना चुनौतीका रूपमा देखिएको सरोकारवालाहरूले बताएका छन्।

अन्तरक्रियामा बासुदेव पौडेल, जमुना शर्मा, केशवशरण लामिछाने, कमल पौडेल अथक, युवाराज श्रेष्ठ, सन्देश श्रेष्ठ, प्रकाश ढकाल तथा केशव पौडेल लगायतले डिजिटल वातावरणलाई बालमैत्री र सुरक्षित बनाउन राज्यले प्रभावकारी नीति तथा नियमन लागू गर्नुपर्नेमा जोड दिएका थिए।

‎उनीहरूले सामाजिक सञ्जालको प्रभावकारी नियमन, अभिभावक तथा समुदायस्तरमा डिजिटल सचेतना अभिवृद्धि र सञ्चारकर्मीको जिम्मेवार भूमिका मार्फत अनलाइन बाल यौन दुर्व्यवहार नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत अप्सरा गुरुङले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्