पाेखरा ।
आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत, दलित, जनजाति तथा पछाडि पारिएका समुदायका महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चार माध्यमहरूले सचेतना र दबाबमूलक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले महिलाको वास्तविक राजनीतिक सहभागिताका लागि निर्वाचन प्रणालीबारे नयाँ बहस आवश्यक रहेको बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा महिलाको जनसङ्ख्या अनुपातअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवाज उठाउनुपर्ने बताए।
उनले नेपाली समाजमा अझै पुरुषप्रधान सोच विद्यमान रहेकाले महिलाको नेतृत्व विकासका लागि विशेष नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत केही क्षेत्रमा महिलाबीच मात्रै प्रतिस्पर्धा गराउने कानुनी वा संवैधानिक व्यवस्था गर्न सकिए योग्य तथा सीमान्तकृत महिलालाई नेतृत्वमा पुग्न सहज हुने उनको भनाइ थियो।
कार्कीले आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण सीमान्तकृत महिलाहरू दोहोरो मारमा परेको उल्लेख गर्दै उनीहरूलाई मूलधारमा ल्याउन राज्यले विशेष प्राथमिकताका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । साथै, उनले महिलाहरू स्वयं र उनीहरूका परिवार परिवर्तनका लागि सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा क्रियाशील महिला पत्रकार सङ्घ (डब्लुडब्लुजे) की केन्द्रीय सदस्य तथा सञ्चारकर्मी दुर्गा अधिकारीले स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता वृद्धि गर्न सञ्चार माध्यमको भूमिकाबारे सहजीकरण गरिन् ।
अन्तरक्रियामा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका निवर्तमान सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा वर्षा, पत्रकार भरत कोइराला तथा महासङ्घ कास्की शाखाका उपाध्यक्ष माधव रेग्मी लगायतले दलित, उत्पीडित, जनजाति तथा अन्य सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व आगामी निर्वाचनमा सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त राखे ।
सञ्जालकी अध्यक्ष तथा अधिवक्ता सरिता तिमिल्सिना पङ्गेनीले सञ्चार क्षेत्र आर्थिक चुनौतीबाट गुज्रिरहेको भए पनि संस्थाले महिलाका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको बताईन् । आगामी दिनमा पनि समसामयिक विषयमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
पङ्गेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिलन भुजेलले स्वागत मन्तव्य राखेकी थिईन् भने सञ्चालन सचिव ईश्वरी विकले गरेकी थिईन् ।








