हेमजामा ‘हिले हङ्गा’ तयारी पुरा: असार १५ मा हिलोमै फुटबल र भलिबल खेलिने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

पोखराको हेमजामा ‘छैटौं हेमजा हिले महोत्सव’को सम्पूर्ण तयारी पुरा भएको छ। ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ भन्ने मूल नाराका साथ देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यो विशेष महोत्सव हुन लागेको हो। कृषि पर्यटनको प्रवर्द्धन गर्ने र कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवका लागि खेत हिल्याउने कार्य समेत सम्पन्न भइसकेको छ।

​यस पटक महोत्सवलाई थप रोमाञ्चक बनाउन हिलोमा खेलिने भलिबल र फुटबल प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछन्। यसका साथै हिले दौड, जोडी दौड, रस्साकस्सी, घैटो फुटाउने, र आमा समूहहरू बीच असारे भाका गायन प्रतियोगिता पनि आयोजना गरिनेछ। परम्परागत संस्कृतिलाई जोगाउन विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता र कृषि झाँकी प्रदर्शन गरिनुका साथै हिलोभित्र भाले तथा माछा समाउने रोचक प्रतिष्पर्धाहरू पनि समेटिएका छन्। कृषकहरूको सम्मानका लागि उत्कृष्ट किसान सम्मान कार्यक्रम समेत राखिएको छ।

​महोत्सवमा विभिन्न स्थानीय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् भने प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पोखरा महानगरपालिका वडा नं. २५ हेमजाकी कार्यवाहक वडा अध्यक्ष धन कुमारी पोख्रेल तिम्सिनाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने यो कार्यक्रम असार १५ गते बिहान ठिक ९:३० बजे विष्णुपादुका माई स्थान मन्दिरबाट झाँकी सहित सुरु भई मिलचोक परिक्रमा गर्दै देवीस्थान टोलस्थित महोत्सव स्थलमा पुग्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्