पोखरा । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र एएचएफ (AIDS Healthcare Foundation) नेपालको संयुक्त आयोजनामा एचआईभी/एड्स सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
त्यसपछि प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाले राष्ट्रिय एचआईभी रणनीतिक योजनाबारे प्रस्तुति दिँदै नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने परिकल्पना लिएको बताए।
उनका अनुसार एचआईभीसँग सम्बन्धित सम्पूर्ण सेवालाई समावेशी, समतामूलक र पहुँचयोग्य बनाउने मिशनसहित नयाँ संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्यमा सुधार तथा एचआईभीसँग सम्बन्धित असमानता न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ।
बसौलाले एआरटीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार गण्डकी प्रदेशमा ३ हजार १७१ जना एचआईभी संक्रमित रहेको जानकारी दिए। तीमध्ये कास्कीमा सबैभन्दा बढी ९ सय जना संक्रमित रहेका छन्। एचआईभी/एड्स न्यूनीकरणका लागि सबैले सचेत र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।
पोखरा एआरटी सेन्टरका फिजिसियन कन्सल्टेन्ट डा. राजेन्द्र पौडेलले एआरटी सेन्टरबाट उपलब्ध हुने सेवा, संक्रमितको नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि उपचारबारे जानकारी गराउँदै समयमै परीक्षण र उपचारमा जोडिन आग्रह गरे।
एएचएफ नेपालका प्रोग्राम कोअर्डिनेटर गंगा ढकालले एएचएफले एचआईभी संक्रमित व्यक्तिहरूका लागि सञ्चालन गर्दै आएका परीक्षण, उपचार, परामर्श तथा सहयोगका विभिन्न कार्यक्रमबारे जानकारी गराइन्।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख अर्जुनबहादुर क्षेत्रीले एचआईभी नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालमा वयस्क जनसंख्यामा एचआईभी संक्रमण दर ०.१३ प्रतिशत रहेको छ। हरेक दिन औसत १.७ जना व्यक्तिमा नयाँ संक्रमण हुने गरेको तथा ६६ प्रतिशत संक्रमण असुरक्षित महिला–पुरुष यौनसम्पर्कबाट हुने गरेको जानकारी दिइयो। सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको अनुमान प्रस्तुत गरिएको थियो।
कार्यक्रममा एआरटी इन्चार्ज श्रीमाया सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।










