प्रतिभा बिजनेस स्कुलमा केयूको बिआइटी कार्यक्रम सञ्चालन हुँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । प्रतिभा बिजनेस स्कुलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी’ (बिआइटी) कार्यक्रम सन् २०२६ को अगस्ट इनटेकदेखि सञ्चालन गर्ने भएको छ ।

गण्डकी प्रदेशमै पहिलोपटक काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिआइटी कार्यक्रम सञ्चालन हुन लागेको विद्यालयले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार बिआइटी कार्यक्रमका लागि अनलाइन प्रवेश परीक्षा फाराम जुन १९ देखि जुलाई ९ सम्म खुला रहनेछ। पहिलो शैक्षिक सत्रमा ३० जना विद्यार्थी मात्र भर्ना गरिने उनले जानकारी दिए ।

यस कार्यक्रममा भर्ना हुन विज्ञान संकायअन्तर्गत फिजिक्स, केमिस्ट्री, गणित र कम्प्युटर विज्ञान विषय अध्ययन गरी कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, सिटिइभिटीको तीनवर्षे कार्यक्रममा फिजिक्स, केमिस्ट्री, गणित र कम्प्युटर विज्ञान अध्ययन गरेका विद्यार्थी पनि भर्नाका लागि योग्य हुने सापकोटाले बताए ।

उनका अनुसार बिआइटी अध्ययनका लागि कुल ९ लाख ६० हजार रुपैयाँ शुल्क लाग्नेछ। भर्नाका बेला कुल शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्डअनुसार सञ्चालन हुनेछ भने यसको शैक्षिक सुपरीवेक्षण विश्वविद्यालयकै स्कुल अफ इन्जिनियरिङले गर्नेछ।

प्रतिभा बिजनेस स्कुलका प्राचार्य रविप्रसाद बरालले पाठ्यक्रममा प्रोग्रामिङ फन्डामेन्टल, डाटाबेस म्यानेजमेन्ट सिस्टम, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, मोबाइल एप डेभलपमेन्ट, सफ्टवेयर आर्किटेक्चर तथा सूचना प्रविधि उद्यमशीलताजस्ता आधुनिक विषय समावेश गरिएको जानकारी दिए ।

सूचना प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी रूपमा बढ्दो रोजगारीका अवसरलाई लक्षित गर्दै पाठ्यक्रम तयार गरिएको उनको भनाइ छ ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले सूचना प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै विद्यालयलाई आधुनिक प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ बिआइटी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

उनका अनुसार यस कार्यक्रमले गण्डकी प्रदेशका विद्यार्थीलाई बिआइटी अध्ययनका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता कम गर्ने, आर्थिक भार घटाउने तथा घरदैलोमै विश्वस्तरीय अवसर उपलब्ध गराउनेछ ।

उनले बिआइटी अध्ययन गर्ने विद्यार्थी आत्मनिर्भर र उद्यमशील बन्ने विश्वास व्यक्त गर्दै अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिने बताए ।

विद्यार्थीले पढ्दै कमाउँदै अघि बढ्न सक्ने वातावरण निर्माण गरिने तथा कक्षाकोठाको सिकाइसँगै उद्योग र अनुसन्धानसँग जोडेर पोखरालाई शिक्षा र सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धतासहित विद्यालय अघि बढिरहेको उनले उनकाे भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्