सञ्चारिका समूहको पञ्चासे भ्रमण : पर्यटन प्रवर्द्धनमा सञ्चारको बलियो पहल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‎पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा सम्पन्न भएकाे छ ।  दुईदिने ‘पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ ले पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गरिएको छ।

‎”पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य पोखरा महानगरपालिका–२३ स्थित पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

भ्रमणका क्रममा सहभागीहरूले पञ्चासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक–सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए।

‎नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने ले सञ्चारिका समूहको पहलले पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । सञ्चारमाध्यममार्फत पञ्चासेको सम्भावना व्यापक रूपमा उजागर हुने भएकाले यस कार्यक्रमले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

‎सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले सञ्चारकर्मीको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा तथ्यमा आधारित र प्रभावकारी सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता अवलोकन भ्रमणले स्थानीय पर्यटनको वास्तविक अवस्था बुझ्न र त्यसलाई समाचार तथा फिचरमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने उहाँले उल्लेख गरे ।

‎पञ्चासे होमस्टे समितिका सञ्चालक होमनाथ पौडेल ले सञ्चारिका समूहको भ्रमणले पञ्चासे क्षेत्रको प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सञ्चारमाध्यमबाट हुने प्रचारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाई स्थानीय पर्यटन व्यवसाय र समुदायको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए ।

भ्रमणका क्रममा पञ्चासे क्षेत्रको पर्यटन सम्भावना, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय संस्कृतिको जगेर्ना तथा पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धिका विषयमा समेत छलफल भएको थियो।

‎सहभागीहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय र सञ्चार क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान स्थापित गर्न र पर्यटन बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले पनि सञ्चारमाध्यममार्फत पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्