पोखरा । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ सम्मानित भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने बताइन् ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति पत्रकारितामा योगदान पु¥याउने सञ्चारकर्मीलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ ।
पुरस्कारदाता कर्म गुरुङले पत्रकारिताको क्षेत्रलाई नजिकबाट नियालिरहेकाले यो सम्मानले पत्रकारको मनोबल बढाउनेमा विश्वास लिएको बताइन् ।
Advertisement
तमु धिं नेपालका अध्यक्ष एवं फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले सम्मानलाई संस्थागत गर्न उचित हुने भन्दै समावेशी पत्रकारिता आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा समारोहमा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिका बिषयलाई समाजमा उजागर गर्दै लैजानुपर्नेमा जोड दिए ।
Advertisement
पुरस्कार छनोट समितिका संयोजक दिपेन्द्र श्रेष्ठले ४० दशक बढी पत्रकारिता गर्दै आएका पत्रकार हितानमगर पत्रकारिता क्षेत्रमा नै प्रेरणाको श्रोत रहेको बताए । अर्का सम्मानित व्याक्ति इन्दिरा गुरुङको भाषा पत्रकारितामा उत्कृष्ट लगनशीलता रहेको सुनाए ।
पुरस्कृत हितानमगरले यो सम्मानबाट अझै पत्रकारिता गर्ने जोश आएको बताए । उनले आदिवासी जनजातिको छाता संस्था स्थापनामा गरिएको संघर्षको स्मरण गर्दै पत्रकारिता निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुन आवश्यक रहेको पनि बताए ।
अर्की पुरस्कृत व्याक्ति गुरुङले भाषा पत्रकारितालाई जिवन्त राख्न सधै अग्रसर रहने बताइन् । २०५४ सालदेखि रेडियो नेपालमा आवद्ध गुरुङले आदिवासी जनजाति समुदायका मुद्दा, भाषा, संस्कृति तथा समसामयिक विषयमा पत्रकारितामार्फत निरन्तर योगदान दिँदै आएकी छिन् ।
फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देविका तामाङले गरेकी थिइन् ।
यो पुरस्कारबाट यसभन्दा अघि रिता गुरुङ, तिलक पुन, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एमबि आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीष मगर, दिपेन्द्र श्रेष्ठ र खेम सारु मगर सम्मानित भइसकेका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको युवा उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर र पोखरामा संचालन भएको ११ औँ राष्ट्रिय हप्किदो च्याम्पियन मेग्मा गुरुङलाई खादा लगाएर सम्मान गरिएको थियो । सोही अवसरमा तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष सतिश गुरुङको कार्यसमितिले कर्म गुरुङलाई सम्मान समेत गरेको थियो ।










