पाेखरा ।
पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय केन्द्र ‘पोखरा घर’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’को शुक्रबार नगरप्रमुख धनराज आचार्यले एक समारोहबीच औपचारिक उद्घाटन गरे।
उद्घाटन गर्दै नगरप्रमुख आचार्यले पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्धन गर्ने उद्देश्यले ‘पोखरा घर’ निर्माण गरिएको बताए। उनले ‘पोखरा घर’ समग्र पोखराका लागि खुसीको क्षण भएको उल्लेख गरे।
स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणमा ‘पोखरा घर’ले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘कोसेली घर’मार्फत स्थानीय हस्तकला तथा घरेलु उत्पादनको प्रवर्धन गरिने बताए।
प्रमुख आचार्यले करिब ५० वर्षअघि ‘पोखरा घर’ निर्माणका लागि जग्गा उपलब्ध गराउने तझ्या तथा रञ्जित परिवार, गण्डकी पेट्रोलियम परिवारलगायत निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

‘पोखरा घर’मा कोसेली घर, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको टिकट बुकिङ काउन्टर र पोखरा प्राज्ञ प्रतिष्ठान सञ्चालनमा आउनेछन्।
साथै, आन्तरिक तथा बाह्य पर्यटकका लागि शुल्कसहितको शौचालय तथा स्नान कक्ष र घण्टाघरसमेत निर्माण गरिएको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी इन्जिनियर लक्ष्मीप्रसाद घिमिरेले ‘पोखरा घर’ निर्माणका क्रममा भएका काम तथा संरचनाबारे विस्तृत जानकारी दिइन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका कुमारी शाही, वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले शुभकामना मन्तव्य राख्दै ‘पोखरा घर’लाई कसैको व्यापारिक केन्द्र बन्न नदिन खबरदारी गरे।
उनीहरूले ‘पोखरा घर’लाई यसको उद्देश्यअनुसार सार्वजनिक हित, स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।
कुल दुई रोपनी क्षेत्रफलमा फैलिएको ‘पोखरा घर’ निर्माणमा ६ करोड १२ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तव्य राखिन् भने उपसचिव तथा सूचना अधिकारी कृष्ण तिवारीले कार्यक्रम सञ्चालन गरे।
उद्घाटन समारोहमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, पर्यटन व्यवसायी, यातायातकर्मी, सामाजिक सङ्घसंस्थाका प्रमुख, स्थानीय नागरिक तथा सरकारी कर्मचारीको उल्लेखनीय सहभागिता रहेको थियो।









