गण्डकीका ५० बढी महिला पत्रकारलाई जलवायु, खोज र डिजिटल पत्रकारिता तालिम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका ५० भन्दा बढी महिला पत्रकारले जलवायु परिवर्तनका स्थानीय प्रभाव, खोजमूलक पत्रकारिता र डिजिटल पत्रकारितासम्बन्धी तालिम लिएका छन्। सञ्चारिका समूह नेपालको आयोजनामा दुई समूहमा गत शुक्रबारदेखि सञ्चालित ‘व्यावहारिक पत्रकारिता सीप’ प्रादेशिक कार्यशाला मंगलबार सम्पन्न भएकाे हाे ।

पहिलो समूहलाई जलवायु परिवर्तनका स्थानीय प्रभाव र खोजमूलक पत्रकारिताबारे प्रशिक्षण दिइएको थियो। दोस्रो समूहलाई डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता र डिजिटल तथ्य जाँचसम्बन्धी तालिम दिइएको थियो।

महिला पत्रकारलाई प्रविधिमैत्री, खोजमूलक र जिम्मेवार पत्रकारितातर्फ अघि बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा लैङ्गिक संवेदनशील जलवायु रिपोर्टिङ, समावेशी पत्रकारिता, खोजमूलक अनुसन्धान, तथ्य जाँच, मोबाइल पत्रकारिता र पत्रकारिताको आचारसंहितालगायत विषयमा प्रशिक्षण दिइएको थियो।

‎सहभागीलाई जलवायु परिवर्तनले स्थानीय समुदाय, वातावरण, पर्यटन, कृषि र जनजीवनमा पारेको प्रभावलाई समाचारका रूपमा कसरी प्रस्तुत गर्ने भन्नेबारे अभ्यास गराइएको थियो। जलवायुका विषयलाई महिला, सीमान्तकृत र प्रभावित समुदायको दृष्टिकोणबाट रिपोर्टिङ गर्नुपर्ने विषयमा पनि छलफल गरिएको थियो।

‎पत्रकार कमला पन्थीले समाजमा पत्रकारको भूमिका, प्रभावकारी समाचार निर्माण र समाचारको प्रभावबारे सहजीकरण गरेकी थिइन्। राजु थापा, कमला पन्थी र अनिशा गौतमले जलवायु परिवर्तनका स्थानीय प्रभाव तथा तथ्यजाँच सम्बन्धी अभ्यास गराएका थिए।

‎वरिष्ठ पत्रकार मोहन मैनालीले खोजमूलक पत्रकारिता, अनुसन्धानमा आधारित रिपोर्टिङ र जलवायु न्यायका विषयमा प्रशिक्षण दिएका थिए।

डिजिटल पत्रकारितातर्फ विकास कार्कीले मोबाइल पत्रकारिता, डिजिटल मिडिया र डिजिटल तथ्य जाँचबारे प्रशिक्षण दिएका थिए। सहभागीलाई मोबाइलबाट समाचार, फोटो र भिडियो उत्पादन तथा डिजिटल प्लेटफर्मका लागि सामग्री निर्माण गर्ने अभ्यास गराइएको थियो।

कार्यशालामा लैङ्गिक संवेदनशील डिजिटल रिपोर्टिङ, पोडकास्ट निर्माण, पत्रकारिताको आचारसंहिता, प्रस्तुति तथा आगामी कार्ययोजनाबारे पनि अभ्यास गराइएको थियो।

सहभागी महिला पत्रकारले कार्यशालाबाट जलवायु परिवर्तन, खोजमूलक पत्रकारिता र डिजिटल प्रविधिको प्रयोगसम्बन्धी नयाँ ज्ञान र व्यावहारिक सीप प्राप्त भएको बताएका छन्।

सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थीको अध्यक्षतामा भएको तालिमको संयोजन सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष राधिका कडेलले गरेकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्