फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा.लि.ले बेलायती सेना तथा  सिंगापुर प्रहरी भर्ती प्रक्रियाको फेज–टु मा सहभागी हुन सफल प्रशिक्षार्थीलाई बिदाइ तथा शुभकामना प्रदान गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीलाई आगामी छनोटका लागि शुभकामना दिँदै भर्ती प्रक्रियासँगै शिक्षा र वैकल्पिक करियरलाई पनि निरन्तरता दिन आग्रह गरिएको छ। सल्युट गाेर्खाबाट अहिले १०७ जना प्रशिक्षार्थी फेज- टु का लागि छनाेट भएका छन् ।

‎कार्यक्रममा प्रमुख अतिथि गोसेली ग्रुप तथा गोसेली प्रिन्ट प्याक प्रा.लिका अध्यक्ष सुशीलकुमार गोसेलीले सल्युट गोर्खाले आफ्नै प्रशिक्षण मैदान, सुविधासम्पन्न होस्टेल, जिम हल र दक्ष प्रशिक्षकमार्फत व्यवस्थित रूपमा प्रशिक्षण दिइरहेको भन्दै प्रशंसा गरे । विगत १८ वर्षदेखि लाहुरे उत्पादनमा निरन्तर सक्रिय संस्थाले भर्ती क्षेत्रमा देखिएका विकृतिविरुद्ध पनि भूमिका खेलिरहेको उनकाे भनाई छ ।

‎‘भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिँदैन’ भन्दै गोसेलीले प्रशिक्षार्थीलाई निरन्तर कर्म गर्न आग्रह गरे । उनले  निरन्तरको मेहनत र कर्मले सफलता प्राप्त गर्न सकिने बताए ।

‎सल्युट गोर्खा ट्रेनिङ सेन्टरका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत राहुल पाण्डेले संस्थाको सुरुवातदेखि हालसम्मको यात्राबारे जानकारी दिँदै भर्ती प्रक्रिया फेयर एन्ड ट्रान्सपरेन्ट बनाउन संस्था प्रतिबद्ध रहेको बताए। भर्तीका नाममा कुनै आर्थिक चलखेल नहुने भन्दै उनले प्रशिक्षार्थी तथा अभिभावकलाई भ्रममा नपर्न आग्रह गरे ।

‎पाण्डेले ‘भर्तीसँगै भविष्य’ भन्ने नाराका साथ संस्था अघि बढिरहेको उल्लेख गर्दै भर्तीमा सफल हुन नसकेका युवालाई समेत रोजगारी र करियरसँग जोड्ने उद्देश्यले गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस सञ्चालनमा ल्याइएको बताए। उनले भर्तीको तयारीसँगै अध्ययनलाई पनि निरन्तरता दिन प्रशिक्षार्थीलाई आग्रह गरे ।

‎‘एउटा बाटो बन्द हुँदा हजारौँ बाटा खुला हुन्छन्’ भन्ने सोचका साथ अघि बढ्न आग्रह गर्दै उनले फेज–टु मा पुग्न सफल सबै प्रशिक्षार्थीलाई सफलताको शुभकामना दिए ।

‎पूर्व ब्रिटिश आर्मी बलराम गुरुङले भर्ती भएर विदेश जान सफल हुने सबैलाई शुभकामना दिँदै विदेशमा रहे पनि अन्ततः नेपाल फर्किएर देशमै योगदान गर्न आग्रह गरे ।

‎ नेपाली सेनाका मेजर हुमानसिंह कुँवरले फेज–२ मा पुग्न सफल प्रशिक्षार्थीलाई शुभकामना दिँदै सफल भएपछि सैनिक जीवनमा प्रवेश गर्ने अवसर प्राप्त हुने बताए । भर्तीमा असफल भए पनि नआत्तिन आग्रह गर्दै उनले युवाका लागि हजारौँ अन्य बाटा खुला रहेको बताए ।

‎पुर्व भारतिय सेना सुवेदार मेजर हनरी क्याप्टेन यमबहादुर गुरुङ, क्याप्टेन शोभितबहादुर खवास र क्याप्टेन तिलक कनुवारले आफ्नाे समयमा भर्ती नै विदेश जाने र सफल हुने प्रमुख अवसरका रूपमा बुझिने गरेको भए पनि अहिले अवसरका क्षेत्र फराकिलो भएको बताए । उनीहरूले भर्तीमा सफल हुन नसके पनि निराश नभई अन्य सम्भावनाको खोजी गर्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

‎पोखरा महानगरपालिका–१३ का निवर्तमान अध्यक्ष एवं समाजसेवी दर्शन लामाले भारतका दशरथ माझीको उदाहरण प्रस्तुत गर्दै दृढ इच्छाशक्ति र निरन्तर प्रयासबाट असम्भवजस्तो देखिने काम पनि सम्भव हुने बताए । उनले प्रशिक्षार्थीलाई बलियो इच्छाशक्तिका साथ लक्ष्यमा अघि बढ्न आग्रह गरे ।

‎मानव सेवा आश्रमकी संस्थापक अभिभावक एवं समाजसेवी सुस्मा पौडेलले सकारात्मक सोच, दृढ संकल्प र निरन्तर परिश्रमले युवालाई सफलतातर्फ लैजाने विश्वास व्यक्त गरिन् ।

‎कार्यक्रममा मानव सेवा आश्रमकी प्रतिनिधि पवित्रा गुरुङ, पदमबहादुर केसी, पूर्व भारतीय सेना प्रकाश श्रेष्ठ तथा नेकपा एमालेका युवा नेता दर्शन लामा लगायतले व्यवसायसँगै मानव सेवामा पनि सल्युट गोर्खा र सञ्चालक राहुल पाण्डेको सक्रियता प्रशंसनीय रहेको बताए । मानव सेवा आश्रम पोखराको सुरुवाती दिनमा संस्थापक अभिभावकका रूपमा पाण्डेले पुर्‍याएको सहयोग र भूमिकाको पनि उनीहरूले स्मरण गरे ।

‎ पोखरा पब्लिक स्कुलका निर्देशक अभिनाश कार्कीले ‘भर्ती सँगै भविष्य’ भन्ने सल्युट गोर्खाको अवधारणा प्रशंसनीय रहेको बताए । सबै युवा लाहुरे बन्न सम्भव नहुने र भर्तीमा असफल भएपछि पढाइसमेत छोड्ने प्रवृत्ति चिन्ताजनक रहेको भन्दै उनले भर्तीको तयारीसँगै शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

‎फेज–टु मा सहभागी प्रशिक्षार्थीका तर्फबाट अर्जुन जोशीले प्रशिक्षार्थीको मेहनत र परिश्रमले आफूहरूलाई समेत ऊर्जा दिएको बताए । मेहनतअनुसार प्रदर्शन गर्न सके सल्युट गोर्खाबाट सबैभन्दा धेरै प्रशिक्षार्थी अन्तिम छनोटमा पुग्ने विश्वास व्यक्त गर्दै उनले सबै सहभागीलाई शुभकामना दिए ।

‎कार्यक्रममा सल्युट गोर्खा पोखराले तालिममा सहभागी प्रशिक्षार्थीसँगै आसपासका सूर्योदय र सूर्यमुखी टोललाई समेत समेटेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको जानकारी दिइयो । युआरएलका  अध्यक्ष ठाकुर पन्त तथा प्रबन्ध निर्देशक गणेश कोइरालाले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरलगायतका गतिविधिलाई निरन्तरता दिने बताए ।

‎कार्यक्रममा सांस्कृतिक नृत्य, खुकुरी नृत्य, सम्मान कार्यक्रम, उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा खेलकुदका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

‎ सक्युट गोर्खा ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक इ. सागर गौतमले  सञ्चालन गरेकाे  कार्यक्रमको स्वागत पूर्व भारतीय सेना तथा एपीटीसीका हनरी क्याप्टेन हाल संस्थाका प्रमुख तालिम प्रशिक्षक कृष्णबहादुर आलेले गरेका थिए ।

‎कार्यक्रममा प्रशिक्षार्थी, अभिभावक, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्