पोखरा । रसुवा बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि पोखरा–२५, हेमजास्थित देवीस्थान आमा समूहले ५० हजार रुपैयाँ सहयोग गरेको छ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्को पीडामा रहेका परिवारलाई आफ्नो तर्फबाट पनि केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ।
समूहकी सचिव अन्जु केसीले विपद्को समयमा सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम प्रदान गरिएको बताइन्। “पीडामा रहेका परिवारलाई हाम्रो सहयोगले केही भए पनि मल्हम लगाउन सकोस् भन्ने उद्देश्यले सहयोग गरेका हौं,” उनले भनिन्।
समूहले रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ।
विपद्को समयमा मानवीय सहयोग र सहकार्य आवश्यक रहेको भन्दै समूहले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि सक्दो सहयोग गर्न आग्रह गरेको छ।









